दार्चुला । सीमा प्रशासन कार्यालयको सेवा सदरमुकाम खलंगाको तिङ्करखेडाबाट प्रवाह भईरहेको छ । बिगत ६ बर्ष देखी कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय सँगै रहेको सीमा प्रशासन कार्यालय मंगलबार देखी तिंकरखेडाबाट सेवा प्रदान गरिरहेको छ । व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्धेश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा ६ जनाको दरवन्दी रहेको छ ।
व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि बैशाखदेखि छाङरुस्थित कार्यालयबाट समेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख मोहनसिंह धामीले जानकारी दिए । एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, एक जना सलेप र दुई जना कार्यालय सहयोगी गरी सीमा प्रशासन कार्यालयमा छ जनाको दरबन्दी रहेको शाखा अधिकृत धामीले बताए । कार्यालय सञ्चालनमा आएको पहिलो दिन मात्रै सात जनाले पास लिएका छन् । हिउँदको समयमा छाङ्रु र तिङ्करका सौँका समुदाय खलंगामा बसोबाँस गर्दै आईरहेका छन । उनिहरुले कुञ्चा (बसाँइसराइ) सरेसंगै छाङरु र खलंगा दुबै ठाउँबाट सेवा प्रवाह हुने कार्यालयले जनाएको छ । विगत लामो समयदेखि सीमा प्रशासन कार्यालय बन्द रहेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका थिए । वैशाखपछि व्यासको छाङबाटै सेवा प्रवाह हुने भएपछि स्थानीय झन खुसी भएका छन् ।
भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १३ किलोमिटर तल छाङरुमा रहेको सीमा प्रशासन कार्यालयबाट अब नियमित सेवा प्रवाह हुने शाखा अधिकृत धामीको भनाई छ । सरकारले गत बर्षदेखि व्यासमा सुरक्षा उपस्थिति बढाएको छ । सीमा प्रशासन कार्यालय समेत सञ्चालनमा आउने भएपछि स्थानीयलाई सहज हुने भएको छ । चिसो छल्न स्थानीयहरु अहिले बेँसी झरेको कारण सीमा कार्यालयमा कोही कर्मचारी नरहेको र कुञ्चा लगत्तै कर्मचारी कार्यालयमा हाजिर हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाहिरका मानिसहरुलाई पास जारी गर्नुपर्ने र व्यास क्षेत्रका नागरिक समेत खलंगा क्षेत्रमा बसोवास गर्ने भएकाले छाङरुको सीमा प्रशासनको कामकाज खलंगाबाट समेत निरन्तर हुने शाखा अधिकृत धामीले बताए । छाङरुमै गएर सेवा दिदा खलंगाका स्थानीयवासीलाइ छाङरु पुगेर सेवा लिन कठिन हुने भएकोले दुबै ठाउँबाट सेवा प्रवाह गर्न लागिएको हो ।
