काठमाडौं । सिन्धुपाल्चाकको बाह्रबिसे नगरपालिका वडा नम्बर–८ स्थित लामा टोलमा २० चैत २०७८ साँझ खाना पकाउने ग्याँस दुर्घटनामा तीन बालबालिकाको ज्यान गएको थियो । ग्याँस चुलोमा खाना बनाउन लाग्दा सिलिन्डर विस्फोट भएर लागेको आगोमा परी निमहादुर तामाङका १० वर्षीय छोरा इशाक, स्थानीय कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्याको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष सुरज लामाले बताए ।

‘साँझ ७ बजेतिर घरमा केटाकेटी खेलिरहेका रहेछन्, आमा खाना बनाउने भन्दै भान्सामा छिरेको र केही बेरमै एउटा सिलिण्डरमा आगो लाग्यो,’ वडा अध्यक्ष लामाले भने, ‘आमा कसरी हो बाहिर निस्कनु भयो, त्यहीबेला सिलिन्डर पड्कियो र केटाकेटीको घटनास्थलमै ज्यान गयो ।’ वडाध्यक्ष लामाका अनुसार केहीबेर अघिसम्म टिभी हेरेर बसेका बालकालिकाको दुर्घटनापछि करिव २५ प्रतिशत मात्रै शरीरको भाग भेटिएको थियो ।

भान्सामा सल्किएको आगोबाट बालबालिका बचाउन घरभित्र छिरेका इशाकका बुबा निमबहादुर पनि घाइते भएको वडाध्यक्ष लामाले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी दक्षबहादुर बस्नेतका अनुसार विस्फोटको बेला बालबालिका टीभी हेरेर बसिरहेका थिए । दुई वर्षको बीचमा नगरपालिकाभित्र यो दोस्रो ग्याँस दुर्घटना थियो । यसअघि वडा नम्बर दुईको नयाँ बस्तीमा पनि ग्याँस दुर्घटनाकै कारण मासु पसलमा आगलागी भएको वडाध्यक्ष लामा बताउँछन् ।

गत साताको यो दुर्घटना लगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी र स्थानीय जनप्रतिनिधि घटनास्थल पुगेका थिए । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको दुई कोठाको कच्ची घर ग्याँस विस्फोटबाट ध्वस्त भएको वडाध्यक्ष लामाको भनाइ छ । ‘विस्फोट हुँदा सिलिण्डर घरको छानो छेडेर आकाशमा उडेको थियोे,’ लामाले भने ‘ग्याँस लिक भएको सिलिन्डर जस्ताको त्यस्तै छ, विस्फोट भएको अर्को सिलिन्डर टुक्राटुक्रा भएर घटनास्थलभर छरिएको छ ।’

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीकाअनुसार काभ्रेको बनेपामा रहेको उग्रचण्डी कम्पनीको ग्याँस सिलिण्डर विस्फोट भएको हो । ‘रेगुलेटरभन्दा तल्लो भागबाट चुहिएको ग्याँसका कारण आगो लागेको र सिलिण्डर विस्फोट भएको पाइयो’, ती अधिकारीले भने । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सुरज लामाका अनुसार, पछिल्ला केही वर्षदेखि गाउँ गाउँमा ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । काठमाडौं र बनेपामा भरिने ग्याँस सिलिण्डरहरु असुरक्षित तरिकाबाट ढुवानी गरेर गाउँगाउँमा पुग्ने र त्यससम्बन्धी सुरक्षाका बारेमा चासो र चेतना नहुँदा दुर्घटना भएको अनुमान गर्छन्, उनी ।

सिन्धुपाल्चोकमा भएको ग्याँस दुर्घटनाको सम्पूर्ण दोष ग्याँस उत्पादक कम्पनी र बिक्रेताको भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । वडाध्यक्ष सुरज लामाका अनुसार काठमाडौंबाट ट्र्रकमा बाह्रबिसे बजार आउने ग्याँस त्यहाँबाट बस, जिप तथा स्थानीय माल सामान ढुवानीका ट्रकमा राखेर गाउँ गाउँमा पु¥याइन्छ ।

‘काठमाडौंको ग्याँस बाह्रबिसेमा झारेर, ठोकेर, लडाएर बोकेर गाउँ गाउँमा पु¥याइन्छ,’ वडाध्यक्ष लामा भन्छन् ‘त्यसरी ढुवानी गर्दा ग्याँसको बिर्को कमजोर भएको हुनुपर्छ । आइतबारको दुर्घटनाको कारण ग्याँसको बिर्को कमजोर हुनु नै हो । उग्रचण्डीका बाह्रबिसेको डिलरबाट त्यो ग्याँस खरिद भएको थियो ।’

लामा टोलको ग्याँस विस्फोटको घटना यसअघिका दुर्घटनाभन्दा पृथक रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाह बताउँछन् । ग्याँस सिलिन्डर नै विस्फोट भएर टुक्राटुक्रा हुनु भनेको गम्भीर घटना हो उनले यसबारे अनुसन्धान हुनुपर्ने बताए । हामीले ग्याँस कम्पनीलाई यसबारे सोधेका थियौ तर उहाँहरुले ग्याँस सिलिण्डर नपड्किने दाबी गर्नु भयो’ प्रहरी निरीक्षक शाहले भने ।

काभ्रेको बनेपामा रहेको यो उद्योगले लोकिप्रय नामक ग्याँस बिक्री गर्छ । उग्रचण्डी ग्याँस उद्योग त्यही उद्योग हो, जुन उद्योगमा चार वर्षअघि गुणस्तर तथा नापतौल विभागले गुणस्तर र सुरक्षाको प्रश्न उठाएर ताला लगाएको थियो । गुणस्तर तथा नापतौल विभागको टोलीले अनुगमनका क्रममा बनेपाका सगरमाथा ग्याँस उद्योग, उग्रचण्डी ग्याँस उद्योग र सूर्य ग्याँस उद्योगलाई तोकिएको गुणस्तर कायम नभएको भन्दै अर्को निर्देशन नआउन्जेल उद्योग बन्द गर्न पत्र काटेका थियो ।

तर, गत आइतबार भएको दुर्घटनामा आफूहरुको कत्ति पनि कमजोरी नरहेको उद्योगका सञ्चालक कृष्णभक्त श्रेष्ठले दाबी गरे । दुर्घटनामा परेको सिलिण्डर हाम्रो हो भन्ने सुनें, हाम्रा सर्वेयरहरु जानुभएको छ, तेस्रो पक्ष बिमाबाट पीडितलाई पैसा मिल्छ,’ श्रेष्ठले भने ‘टाटाको गाडी दुर्घटना भयो भनेर टाटाको दोष त हुन्न नि, चलाउने चालकको दोष हुन्छ । यहाँ पनि हाम्रो सिलिण्डर पड्कियो भनेर हाम्रो दोष हुन्न, हृयान्डलिङ गर्नेको दोष हो ।’ श्रेष्ठले आफूहरुले नेपाल गुणस्तर प्रमाण चिहृन लिएर उद्योग चलाएको दाबी गरे ।

साभारः अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय