धनगढी । सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पनि बन्द भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म सीमा बन्द गरिएको हो । सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । कञ्चनपुरको गड्डाचौकी नाका पनि मंगरबारदेखि नै बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गरी २७ गते राति १२ बजेदेखि ३० गते मतदान सम्पन्न नभएसम्म जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको थियो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। ‘निर्वाचनलाई लक्षित गरेर नाका बन्द गरिएको हो,’ उनले भने । निर्वाचनलाई लक्षित गर्दै प्रदेशकै ठुलो नाका त्रिनगर–गौरीफन्टा पनि बन्द भएको छ ।
साभारः दिनेश खबर
