दार्चुला । गत वैशाख ६ गतेदेखि जेष्ठ १९ गते सम्म संचालन भएको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रम अन्तर्गत दार्चुलामा १८ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ । जिल्ला कृषि गणना कार्यालयका अनुसार १२२ क्षेत्रका १८ हजार ७११ परिवारको लगत सङ्कलन गरिएको जनाएको छ ।

४५ दिनसम्म गणक र सुपरीवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरिएको जिल्ला कृषि गणना कार्यालयका प्रमुख शंकरदत्त भट्टले जानकारी दिए । गणक र सुपरिबेक्षकहरुले सङ्कलन गरेको तथ्याङ्क जाँचबुझ गरी केन्द्रीय तथ्याङ्क विभागमा पठाइसकेको कार्यालयको भनाई छ ।

गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइएको छ । यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गरिएको बताइएको छ ।

कृषि वन, कृषि ऋण, बिमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १८स्थानमा कृषि गणना भएको छ । मालिकार्जुन गाउँपालिकामा १७ महाकाली नगरपालिकामा १५ नौगाड , मार्मा गाउँपालिकामा समान १४÷१४ स्थानामा गणना भएको छ । यस्तै लेकम गाउँपालिकामा १३ अपि हिमाल गाउँपालिकामा ८ व्यासँ गाउँपालिकामा १२ तथा दुहुँ गाउँपालिकामा ११ स्थानमा कृषि गणना गरिएको कार्यालयका प्रमुख भट्टले बताए ।

गणनाअन्तर्गत जिल्लामा १२२ क्षेत्रमा कृषि गणना गरिने भएको छ ।जिल्लामा ९ स्थानीय तहमा रहेका ६१ वटै वडाका १२२ क्षेत्रमा गणना गरिएको जिल्ला कृषि गणना कार्यालयले जनाएको छ । गणनाका लागि दार्चुलामा १३ सुपरीवेक्षक र ५० गणक गरेर ६३ जनाको जनशक्ति परिचालन गरिएका थिए ।

दार्चुलामा चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम सुरु भएको थियो । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय