दार्चुला । व्याँस गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले गाउँपालिकाको ११ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कालापानी, लिपुलेक, लिम्पियाधूरास्थितको व्याँस गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा दुम्लिङदेखि छाङ्गरुसम्म हिमाली पदमार्ग निर्माण रहेको छ ।

वडा नम्बर १ छाङ्गरु र तिंकरका बासिन्दालाई आफ्नै भूमिबाट सहज आवतजावतका लागि दुम्लिङदेखि छाङ्गरु सम्म पदमार्ग निर्माण गरिने जनाइएको छ । यस्तै गाउँपालिकामा हुने विभिन्न कार्यक्रम संचालन एवं सार्वजनिक कार्यक्रमहरुको व्यवस्थापनका लागि गाउँपालिका केन्द्र नजिक ‘कालापानी हल’ निर्माण गरिने जनाइएको छ ।

कृषितर्फ प्रत्येक वडामा नमुना हरित गृह निर्माण गरी कृषि उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ । एकल महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइने तथा दुई ओटा दुहुनो भैँसी पालेका कृषकलाई प्रोत्साहन र सम्मान गरिने जनाइएको छ ।

शिक्षा क्षेत्रतर्फ ‘प्रधानाध्यापकले चाहेमा सक्छन्’ कार्यक्रम संचालन गरि उनीहरुको क्षमता अभिवृद्धिका साथै नमुना विद्यालयको अवलोकन भ्रमण र उचित भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश छ । ‘युवाहरुलाई आह्वान, रोजगारीमा प्रोत्साहन’ कार्यक्रमअन्तर्गत लोक सेवा आयोग, शिक्षक सेवा आयोगका तयारी कक्षा तथा सुरक्षाकर्मीमा भर्ना हुन चाहनेहरुका लागि निशूल्क पूर्व तयारी कक्षा संचालन हुनेछन् । व्याँस गाउँपालिकामा स्थायी बसोवास भएका विद्यार्थीहरुलाई एमविविएस अध्ययनका लागि छात्रवृति उपलब्ध गराइने तथा गाउँपालिका भरिका विद्यालयमा एउटै रङ्ग र एउटै विद्यालय पोसाक प्रयोगमा ल्याइने छ । स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकामा एमविविएस डाक्टरको व्यवस्थापन गरिने जनाइएको छ ।

अपांग तथा असहाय नागरिकको अभिभावक गाउँपालिका अध्यक्ष कार्यक्रमअन्तर्गत सहायता केन्द्र स्थापना गरि स्याहार गरिने उल्लेख छ ।

यस्तै स्थानीय मदिरालाई ब्राण्ड बनाइने, किशोरीहरुलाई आत्मरक्षा तालिम दिइने, प्रत्येक वडामा सामाजिक मेलमिलाप केन्द्र गठन गरिने, परम्परागत बाँजागाजाको पुर्नःसंरचना तथा पुर्नः उत्थान गरिने, द्वाल र सौका भाषाको संरक्षण तथा सम्बन्द्धनमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने, एक घर एक धारा कार्यक्रमका लागि प्रत्येक वडामा पलम्बरको व्यवस्थाका साथै खानेपानी तथा सरसफाई शाखाको कर्मचारीसहितको व्यवस्था गरिने जस्ता योजना नीति तथा कार्यक्रममा समेटिएका छन् । धनगढी खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय