दार्चुला । जिल्लाको व्याँस गाउँपालिकाले करार कर्मचारीहरुको करार अवधि नथप्ने भएको छ । गाउँपालिकाले शनिवार एक सूचना जारी गर्दै पालिका अन्तरगतका सम्पूर्ण शाखा तथा कार्यालयहरुलाई करार अवधी साउन १ देखि नथप्न भनेको छ । गाउँ कार्यपालिकाको असार ३१ गते बसेको बैठकले सबै शाखा तथा कार्यालय अन्तरगत कार्यरत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णानन्द बडूले जानकारी दिए।
यो संगै जिल्लाका ४ वटा स्थानीय तहले करारका कर्मचारीहरुको करार अवधि नथपिने जनाएका छन । यस अघि जिल्लाको दुहुँ गाउँपालिका शैल्यशिखर नगरपालिकना तथा अपि हिमाल गाउँपालिकाले पनि करारका कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथपिने बताएका छन । महाकाली नगर पालिकाले पनि करार अवधी नथप्ने भन्ने निर्णय गरेको र बाहिर सार्बजनिक नभएको भन्ने बुझिएको छ । त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरु पनि करार कर्मचारीका बारेमा छलफल गरिरहेका छन ।

