दार्चुला : जिल्लाको महाकाली नगरपालिकाले पालिका अन्तर्गतका करार कर्मचारीहरुको म्याद थप जेष्ठता र कार्यसम्पादनको आधारमा गर्ने निर्णय गरेको छ । सोमवार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाको करार कर्मचारी व्यवस्थापन कार्यविधि बमोजिम विभिन्न करार तथा श्रेणीविहीन कर्मचारीहरुको एकीन गरी १ महिनाभित्र प्रतिवेदन पेश गर्न नगर उपप्रमुख दुर्गा खत्री विष्टकाे संयाेजकत्वमा तिन सदस्यीय कार्यदल गठन गरी जिम्मेवारी तोकिएको छ । कार्यदलकाे सदस्यमा याेजना अधिकृत युवराज जाेशी र स्वास्थ शाखा प्रमुख माेहन सिंह माेहरा रहेका छन् । कार्यदललाइ करार कर्मचारीहरुकाे कार्यसम्पादन मुल्यांकन गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न भनिएकाे छ । उक्त प्रतिवेदनबाट कायम हुन आएको थप दरबन्दी कार्यपालिका र सभाबाट स्वीकृत गरी करार कर्मचारी व्यवस्थापन कार्यविधि २०७९ बमोजिम खुला विज्ञापनबाट प्रतिष्पर्धाको आधारमा पदपूर्ति गर्ने जनाइएको छ ।
अहिले नगरपालिकाका करार कर्मचारी अन्तर्गत सरसफाइ सुपरभाइजर, कुचिकारको हकमा तत्कालको लागि समावेशी हुने गरी पद र उमेरको जेष्ठताका आधारमा करार सम्झौता साउन १ गतेदेखि ६ महिना सम्मका लागि सम्झाैता थप गर्ने निर्णय गरिएको छ । यस्तै हाललाई शहरी स्वास्थ्य र आधारभूत स्वास्थ्यको अतिआवश्यक दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीको म्याद ३ महिना थप गर्ने, स्वीपरको दरबन्दीमा जेष्ठता र कार्यसम्पादनको आधारमा ६ जनालाई र सवारी चालक ५ जनालाइ निरन्तरता दिने निर्णय गरिएको छ । यस्तै सुपथ मूल्य पसलको विक्रि सहयोगीका हकमा कार्यविधि अनुसार पदपूर्ती नहुदा सम्म ३ महिना निरन्तरता दिने तथा कार्यालय सहयाेगी मध्येबाट जेष्ठताका आधारमा ५ जनाकाे करार सम्झाैता थप गर्ने निर्णय गरीएकाे छ । dfm
