दार्चुला— भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका ३३ वर्षीय जयसिंह धामीको अवस्था १ वर्ष बित्दा पनि अज्ञात छ । नेपालले प्रभावकारी कूटनीतिक पहल नगर्दा र भारतीय पक्षले घटना अनुसन्धानमा असहयोग गर्दा अपराधमा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याइएको छैन । वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउन काठमाडौंका लागि हिँडेका दार्चुलाको व्यास गाउँपालिका–२, माल (खाङदाङ) का धामी २०७८ साउन १५ मा मालघाटबाट तुइनबाट महाकाली नदी तरेर भारतको गस्कु जाने क्रममा नदीमा खसेका थिए । गृहमन्त्रालयद्वारा सहसचिव जनार्दन गौतम नेतृत्वमा गठिन छानबिन समितिले एसएसबीका सुरक्षाकर्मीले लट्ठा खुस्काइदिएपछि तुइनबाट खसेर धामी बेपत्ता भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले २०७८ भदौ १८ मा भारतलाई कूटनीतिक नोट पठाउँदै घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता धामीको परिवारलाई राहत दिलाउन माग गरेको थियो । कूटनीतिक नोटको जवाफ भारतले अहिलेसम्म नदिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।