दार्चुला : लामो समय संचालनमा रही विभिन्न कारणले बन्द रहेका उद्योगहरु पुनः संचालनमा ल्याउनु पर्ने उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनु भएको छ । गृह जिल्ला दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन समारोहमा बोल्दै उहाले विगतमा सरकारले संचालन गरेका तथा हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः संचालनमा ल्याई व्यापार घाटा घटाउनु पर्नेमा जोड दिनुभयो ।
बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजि क्षेत्रसंग समन्वय सहकार्य गरि संचालन गर्ने तयारीमा सरकार रहेको पनि मन्त्री बडूले.बताउनु भएको छ । बन्द रहेका उद्योगधन्दाहरु संचालन गर्न आफ्नो मन्त्रालयले कार्यविधि र मापदण्ड तयार गरिरहेको मन्त्री बडूले कार्यक्रममा जानकारी गराउनु भएको थियो । “उद्योग संचालन सम्बन्धि कार्यविधि तयार गरि संसद्मा लैजान्छौ, संसद्बाट कार्यविधि पास हुने वित्तिकै लागु गरि बन्द अवस्थामा रहेका उद्योगहरु संचालन गर्छौ मन्त्रि बडूले भन्नुभयो ।”
विज्ञापन

उद्योगहरु संचालन भए पस्चात सयौं बेरोजगार युवाहरुले रोजगारी पाउने तथा विदेशीनु पर्ने बाध्यताको अन्त्य हुनेमा उहाले विस्वास व्यक्त गर्नुभयो । युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरु उपलब्ध गराई विदेश जानबाट रोक्नु पर्ने उहाको भनाई थियो । नेपालबाट हाल छड, सिमेन्ट र विद्युत अन्य देशहरुमा निर्यात भइरहेको भन्दै उहाले निजि क्षेत्रलाई प्रोत्साहन गरि उत्पादन बढाउन सरकार तयार रहेको बताउनुभयो । निजि क्षेत्रका उद्योग र उत्पादन कम्पनीहरुलाई सरकारले ८ प्रतिशत अनुदान दिइसकेको जानकारी गराउदै मन्त्री बडूले उत्पादन बढाउन र निर्यात बढाउन निजि क्षेत्रका उद्योगीहरुलाई १५ प्रतिशत सम्म अनुदान दिने सरकारको तयारी रहेको बताउनभयो ।
साथै मन्त्री बडूले नेपालको अर्थतन्त्र सहि बाटो नभएको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । देशमा निर्यात हुने बस्तुको उत्पादन कम हुनु र व्यापार घाटा हुनुले अर्थतन्त्रमा नराम्रो असर परी रहेको उहाको भनाई थियो । अर्थतन्त्र बलियो बनाउन उत्पादन र निर्यात बढाउनु पर्नेमा मन्त्री बडूको जोड छ । नेपालको जुम्ला जिल्लामा उत्पादन हुने मार्सी चामल बाहिरी मुलुकहरुमा निर्यात भइरहेको स्मरण गराउदै उहाले दार्चुलामा उत्पादन हुने राज्मा, कोदो, फापर लगायतका कृषिजन्य उत्पादनहरु पनि अन्तराष्ट्रिय बजार सम्म पु¥याउन स्थानिय तहहरुले कृषि क्षेत्र तथा बजारीकरणमा लगानी बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

