दार्चुला । सोमवार छापामार शैलीमा दुहुँ कार्यपालिकाको बैंठक बसेको भन्दै गाउँपालिका उपाध्यक्ष सहितका २ वडा अध्यक्षले विज्ञप्ति मार्फत आपत्ति जनाएका छन । कार्यपालिकाको बैंठकको सुचना कम्तिमा पनि ३ दिन अगाडी कार्यपालिका सदस्यहरुलाई जानकारी दिनु पर्ने भएपनि आफुहरुलाई भोली कार्यपालिकाको बैंठक छ भनी राति ११ बजे सुत्ने बेला जानकारी गराएको उनीहरुको आरोप छ । ढिलोगरी जानकारी दिई छापामार शैलीमा कार्यपालिका बैंठक बसेको भन्दै गाउँपालिका उपाध्यक्ष शान्ति बंम, वडा नम्वर १ का वडा अध्यक्ष जित बहादुर बंम र वडा नम्वर २ का अध्यक्ष गोबिन्द सिह डडालले सयुक्त बिज्ञप्ति मार्फत आपत्ति जनाएका हुन । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार कार्यपालिकाको संचालन ब्यवस्था बिपरीत बहुमतको आधारमा अबैधानिक तरीकाले बैंठक राखिएको उनीहरुको भनाई छ ।
अबैधानिक रुपमा संचालित कार्यपालिकाले गरेका निर्णयहरु कुनै पनि हालतमा स्वीकार्य नहुने बिज्ञप्तिमा भनिएको छ । कार्यपालिका बैंठक भनेको जनता गाउँसमाजका समस्या छलफल गरी समाधान गर्ने थलो रहेको भन्दै कार्यपालिका बैंठकलाई आफ्नो पार्टीको स्वार्थ पुर्ति गर्ने थलोका रुपमा प्रयोग गरेको उनीहरुको आरोप छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार कार्यपालिकाको बैंठक वस्नु पुर्व ऐजेन्डा र समयको लागी कार्यपालिका सदस्य सचिवले गाउँ कार्यपालिकाका सदस्यहरुलाई ३ दिन अगावै सुचना दिनु पर्ने कानुनी ब्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । सदस्य सचिवले आफ्नो जिम्मेवारीबाट पन्छिएर बैंठकको जानकारी समयमा नगराएको प्रति आफुहरुको गम्भिर आपत्ति रहेको उनीहरुको भनाई छ ।
