दार्चुला : दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाबाट विहीबार देखी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहमा अभियान संचालन गरेर विवरण संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालयका खरिदार सागर जोशीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाका ९ वटै वडा तथा मालिकार्जुन गाउँपालिकाको ८ वटै वडा कार्यालयको केन्द्रहरुबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएको उहाले बताउनुभयो । महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका सबै वडा गरी १७ स्थानबाट आज देखी विवरण संकलनको कार्य भइरहेको बताइएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयपत्रका लागि विवरण संकलन गरिदै आएकोमा अब देखी वडा स्तरबाटै संकलन गरिने जनाइएको छ ।

विवरण संकलनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट आवश्यक जनशक्ति जिल्ला आई विवरण संकलनको कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकको प्रमाण र पहिचान दिने विभिन्न कागजपत्रहरुलाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्रको अवधारणा आएको विभागले जनाएको छ । १६ वर्षदेखि माथिका सबै नागरिकको राष्ट्रिय परिचयपत्र जारी हुने बताइएको छ । जिल्ला प्रशासन मार्फत यस अघि ८ हजार ७ सय ४८ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो नाम दर्ता गराएका छन् । २०७७ असोजबाट सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम मार्फत दुई वर्षको अवधिमा याहाका ६ हजार २ सय ५६ जना पुरुष तथा २ हजार ४ सय ९२ जना महिलाले आफ्नो नाम राष्ट्रिय परिचयपत्रमा दर्ता गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिगतका साथै जैविक विवरण पनि समेट्ने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्ने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्न नेपाली नागरिकता, राहदानी लिएको भए राहदानीको सक्कल वा फोटोकपी, बसाइँसराई गरेको हकमा बसाइँसराइको सक्कलै प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको सक्कलै प्रमाणपत्र, श्रीमान् श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ताको प्रमाण पत्र आवश्यक पर्ने बताइएको छ । चार महिनाभित्र जिल्लाका सबै नागरिकको नाम राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने लक्ष्य सहित वडास्तरबाट काम सुरु भएको बताइएको छ । वडास्तरबाट विवरण संकलन गर्दा सबैको पहुँच हुने र भीडभाड कम हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय