दार्चुला । नेपाल टेलिकमको फोर जी सेवाको टावर निर्माण गर्नका लागि व्यास गाउँपालिका वडा नम्वर १ छाङरुमा हेलिकप्टरबाट सामान ढुवानी भइरहेको छ । कालापानी नजिकैको गाउँ छाङ्गरु सम्म पुग्न पैदल बाटो समेत नुहदा महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएका हुन् । टावर निर्माण भएको दुई वर्ष पछि सोलार व्याट्री,सोलार पाता,डिभाइस लगायतका सामान हेलिकप्टरबाट ढुवानी भइरहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए । हेलिकप्टरबाट सामान ढुवानी भएसँगै अब टावर छिटै सञ्चालन हुने उनले बताए । टावरलाई आवश्यक पर्ने पावरका लागि सोलार सिस्टमका उपकरण हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । निर्माण कम्पनीबाट टावर निर्माण हुन लागेको छ भने हेलिकप्टरको सामान ढुवानी खर्च निर्माण कम्पनीले बेहोर्ने छ । सरकारले त्रिदेशीय सीमा क्षेत्र पर्ने व्यासमा सञ्चारको पहुँच पुर्याउने उद्देश्यले नमस्तेको टावर निर्माण गरेको छ । नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीगाउँसम्म यसको पहुँच पुग्नेछ । कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर छ । त्यो ठाउँबाट कुटीसम्मको गाउँ देख्न सकिन्छ भने भारतीय सुरक्षा अधिकारीलाई सहजै नेपाली सिम प्रयोग गर्न मिल्नेछ । यसअघि पनि व्यासको छाङ्गरुमा रहेको स्काइ टावरले छायालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो । सशस्त्र प्रहरीलाई सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार सेवा जोडिएको छ । छाङ्गरुमा सुरक्षा उपस्थिति बढाएसँगै प्रभावकारी सञ्चारको व्यवस्थापन गर्न लागिएको हो ।
