दार्चुला । प्रारम्भिक तह पढाई कार्यक्रमअन्तर्गत स्थानीय तहका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरु सँग समीक्षा बैठक सम्पन्न भएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपालद्वारा संचालित समीक्षा बैठक शनिवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । विद्यार्थीको सिकाइ उपलब्धीका लागि स्थानीय तह र विद्यालयले खेल्नुपर्ने भूमिकाका विषयमा रहेर समीक्षात्मक बैठक आयोजना गरिएको सीआरडीएस नेपाल दार्चुलाका टिम लिडर अशोक राज ओझाले जानकारी दिए । समीक्षा बैठकमा विश्व खाद्य कार्यक्रमले शिक्षा क्षेत्रमा खेलेको भूमिकाबारे सरोकारवाला निकायहरु सँग छलफल गरिएको छ । समीक्षा बैठकमा प्रारम्भिक तहमा सिकाईको अवस्था, उपलब्धी, भावी रणनीति र कार्यक्रम बारे छलफल गरिएको बताइएको छ ।
प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ दार्चुलामा सन २०१५ देखि ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ लागू भएको छ । यो कार्यक्रममा विशेषगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपको सुधार गर्नु रहेको छ ।
समीक्षा बैठकमा समग्र शैक्षिक प्रणालीको प्रभावकारी व्यवस्थापनमा कमी, सिकाइ अवस्थाको विश्लेषण नहुनु, कक्षाकोठाको व्यवस्थापन र सिकाइ वातावरण कमजोर हुनु जस्ता पक्षले समग्र सिकाइ कार्य प्रभावकारी हुन नसकेको औल्याइएको छ ।
प्रारम्भिक तह कक्षा पढाई कार्यक्रम जिल्लाका ९ वटै स्थानीय तहका दिवा खाजा कार्यक्रम लागू भएका ३ सय ४४ वटा विद्यालयमा सञ्चालनमा रहेको कार्यक्रमका जिल्ला संयोजक मानसिंह कार्कीले बताए ।
यसैबीच समीक्षा बैठकमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले एसइई नतिजा समेत प्रस्तुत गरेका थिए । जसमा जिल्लाका माध्यमिक विद्यालयको नतिजा हेर्दा अनिवार्य गणित विषयमा अधिकांस विद्यार्थी असफल भएको पाइएको छ ।
यस्तै ९ वटै स्थानीय तहसँग सिकाइ उपलब्धिका लागि वैकल्पिक सिकाइ प्रोत्साहन, नियमित र प्रभावकारी सिकाइ, नविनतम प्रविधिको प्रयोगका साथै बालमैत्री सिकाईमा जोड, सिकाइ स्तर र भौतिक व्यवस्थापन, सरसफाइ, नीति निर्माण र बजेट विनियोजन गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रमुख एवं शिक्षा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय