दार्चुला । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालको सुदूरपश्चिम प्रदेश संयोजकमा दार्चुलाका नरबहादुर विष्ट चयन हुनुभएको छ । माओबादी केन्द्रको मार्मा गाउँकमिटी अध्यक्ष समेत रहनुभएका बिष्ट वाइसियलको प्रदेश संयोजक चयन हुनुभएको हो ।
मार्मा गाउँपालिका वडा नम्बर २ मा २०४८ साल जेठ २२ गते जन्मिनुभएका विष्टले २०६१ सालमा तपोवन मावि पडपडामा अखिल क्रान्तिकारीको इकाई कमिटी सचिव हुँदै राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०६४ सालमा लटिनाथ मावि रास्कोटको इकाई कमिटी अध्यक्ष, २०६६ सालमा अखिल क्रान्तिकारी ५ औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सचिव, २०६८ सालमा जिल्ला अध्यक्ष, २०६९ अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, २०७१ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य, २०७२ सालमा जिल्ला ईन्चार्ज, २०७४ सालमा पार्टी एकता पछि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सचिवालय सदस्य, पार्टी विभाजन पछि २०७८ सालमा नेकपा माओवादी केन्द्र मार्मा गाउँकमिटी अध्यक्ष, वाइसियल जिल्ला इन्चार्ज, केन्द्रीय कमिटी सचिवालय सदस्य हुँदै २०७९ साल भदौ ३ देखि ५ गतेसम्म आयोजित राष्ट्रिय भेलाबाट वाइसियल नेपालको सुदूरपश्चिम प्रदेश संयोजक चयन हुनुभएको हो।
प्रदेश संयोजक विष्टले कानुनमा स्नातक गरी अधिवक्ता हुनुहुन्छ भने, समाजशास्त्रमा त्रिचन्द्र कलेजबाट स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
यस्तै वाइसियलको जिल्ला संयोजक रहनुभएका सुरेन्द्र बमलाई केन्द्रिय सदस्यका साथै जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । जिल्ला संयोजकको जिम्मेवारी देवसिंह ठगुन्नालाई दिइएको छ भने सुन्दर बिष्टलाई केन्द्रिय सदस्य चयन गरिएको छ ।
