दार्चुला । निर्वाचन आयोगमा समयमै निर्वाचन खर्च नबुझाउने दार्चुला ५ सय ४ जना उम्मेदवार कारवाहीमा परेका छन् । गएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ५ सय ४ जना कार्वाहीमा परेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गरिएको हो ।
दार्चुलामा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका ८ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई प्रतिव्यक्ति ४ लाख ५० हजारका दरले जरीवाना तोकिएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका २९ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई प्रतिव्यक्ति तीन लाख ५० हजारका दरले जरीवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।

यस्तै नगरपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य , महिला सदस्य र सदस्यका ११४ जना उम्मेदवार कारवाहीमा परेका छन् ।
उनीहरुलाई जनही दुई लाखका दरले जरीवाना तोकिएको छ । यस्तै गाउँपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्य पदका ३५३ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई जनही १ लाख ५० हजारका दरले जरीवाना तोकिएको सुचना अधिकारी जोशीले जानकारी दिए । निर्वाचन खर्च नबुझाउनेमा अधिकांश पराजित उम्मेदवार रहेका छन् ।
तोकिएको जरीवाना नतिर्नेलाई आगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । ३० दिनभित्र खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार कारवाही गरिएको आयोगले जनाएको छ ।
