दार्चुला : आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ । दार्चुलामा आजदेखि म्यादी प्रहरी छनौट गरिदैछ । निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुलाई विशेष प्राथमिकतामा राखिएको छ । दार्चुलामा असोज ९ गतेदेखि असोज १२ गतेसम्म उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक चदुरुस्ती परीक्षा संचालन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।
पहिलो दिन दर्ता नम्बर १ देखि दर्ता नम्बर ६ सय, दोस्रो दिन दर्ता नम्बर ६ सय १ देखि १ हजार २ सयसम्म र तेस्रो दिन अर्थात असोज १२ गते दर्ता नम्बर १ हजार २ सय १ देखि १ हजार ८ सय ९ सम्मका दर्ता नम्बरको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक चदुरुस्ती परीक्षा हुने उनले बताए । आगामी निर्वाचनका लागि दार्चुलामा १ हजार ८ सय ९ जनाको आवेदन परेकोे छ । जिल्लाको लागि म्यादी प्रहरी जनशक्ति करिब ९ सयको हाराहारीमा भर्ना गरिने कार्यालयले जनाएको छ ।
म्यादी प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ बमोजिम पूर्व सुरक्षाकर्मी तथा गत स्थानीय तहमा भर्ना भइ सेवा गरेका म्यादीलाई शारीरिक तन्दुरुस्ती परीक्षामा सहभागी नगराइ सिधै अन्तर्वातामा सहभागी गराइने जनाइएको छ । म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गरिने बताइएको छ ।
