दार्चुला । भाद्र २४ गते रातिको अविरल बर्षाका कारण बाढिपहिरोबाट पुर्ण घर क्षति भएका घरपरिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । सुदुरपश्चिमेली नेपाल भारत समाज, नेपाल पत्रकार महासंघ दार्चुला शाखा र हरिप्रसाद जोशी मार्फत विभिन्न व्यक्तिले  सहयोग गरेको रकमबाट कम्बल खरिद गरि बाढिपहिरोबाट पुर्ण रुपमा क्षति भएका घरपरिवारलाई उपलब्ध गराउने शर्तमा सम्बन्धित स्थानिय तहका जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ ।

चिसो मौसम सुरु भइसकेकोले बाढिपहिरोबाट पुर्ण रुपमा क्षति भएका जिल्लाका ६९ घरपरिवारलाई बेलेङकेट कम्बल हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मणसिह धामीले बताए। नौगाड गाउँपालिकालाई २४ कम्बल,लेकम गाउँपालिकालाई ५ कम्बल र महाकाली नगरपालिकालाई ४० कम्बल उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको रहोबरमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीलाई ५ कम्बल, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टलाई ४० कम्बल र नौगाड गाउँपालिका उपाध्यक्ष जगतसिह ठगुन्नालाई २४ कम्बल हस्तान्तरण गरिएको हो ।

महाकाली नगरपालिकाको वडा नम्बर १,२ र ३ मा पुर्ण क्षति भएका घरपरिवारलाई पहिलो प्राथमिकतामा राखेर कम्बल वितरण गर्न अनुरोध सहित महाकाली नगर उपप्रमुख खत्री विष्टलाई हस्तान्तरण  गरिएको नेपाल पत्रकार महासंघ दार्चुलाका कोषाध्यक्ष हरिप्रसाद जोशीले जानकारी दिए । कम्बल खरिदका लागि सुदुरपश्चिमेली नेपाली भारत समाजले १ लाख १५ हजार ६ सय तिन रुपैया,नेपाल पत्रकार महासंघ जिल्ला दार्चुलाका पदाधिकारीमार्फत सहयोग गरिएको १७ हजार ४ सय ६२ र नेपाल पत्रकार महासंघ दार्चुलाका कोषाध्यक्ष एवं गतिशिल व्यक्तित्व विकासका हरिप्रसाद जोशी मार्फत विभिन्न व्यक्तिहरुले ८६ हजार १ सय ११ रुपैया ३३ पैसा सहयोग गरेकोे छ ।  कभर सहित प्रति बेलेङकेट कम्बलको मुल्य ३ हजार २ सय रुपैया परेको कोषाध्यक्ष जोशीले बताए ।

 बाढिपिडितहरुको घाउमा मलम लगाउने उद्येश्यले सानै भएपनि सहयोग गर्ने जमर्को गरिएको सुदुरपश्चिमेली नेपाल भारत समाजका केन्द्रिय महासचिव रहेका लेकम गाउँपालिका वडानम्बर २ घर भएका महादेव भट्टले जानकारी दिए। सुदुरपश्चिमेली नेपाल भारत समाजका केन्द्रिय महासचिव भट्ट र कोषाध्यक्ष एवं लेकम गाउँपालिका वडानम्बर ५ घर भएका बासुदेव जोशीको अगुवाईमा सहयोग रकम उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ दार्चुलाका नेता दिपक खातीले बाढिपिडितहरुको घाउमा मलम लगाउने कार्यमा सभागिहरुलाई धन्यबाद दिएका छन ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा गरिएको राहत सामाग्री हस्तान्तरण कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बाढिपिडितका लागि उपयुक्त समयमा वा चिसो मौसमको सुरुवातीमा सुदुरपश्चिमेली नेपाल भारत समाज, नेपाल पत्रकार महासंघ दार्चुला शाखा र सहयोग संकलनका अभियान्ता हरिप्रसाद जोशीलाई विशेष धन्यबाद ज्ञापन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको डाटा अनुसार पुर्ण क्षति भएका वास्तविक बाढिपिहित संग राहत सामाग्री पुग्नेमा कुनै कन्जुुस्याई नहुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् । राहत सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका कोषाध्यक्ष एवं गतिशिल व्यक्तित्व विकासका अभियन्ता हरिप्रसाद जोशीले सहयोग गरेका व्यक्तिहरुको नामवाली समेत सार्वजनिक  गरेका थिए । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा राहत सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, महाकाली नगरउपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नौगाड गाउँपालिका उपाध्यक्ष जगतसिह ठगुन्ना र नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शंकरसिह धामी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय