दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका–४ का वर्तमान वडा अध्यक्ष पुर्व वडा अध्यक्ष र एक जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्याँस–४ कै डोकट घट्नाको विषयमा सोधपुछ गर्न वर्तमान वडा अध्यक्ष ४३ वर्षिय झुन सिंह विष्ट, पुर्व वडा अध्यक्ष ५५ वर्षिय संग्राम सिंह विष्ट र ४३ वर्षिय स्थानिय मोहन सिंह विष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्ला अदालतबाट पक्राउपुर्जी जारी पछि उनिहरुलाई नियन्त्रणमा लिइ सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जनाएको छ । दार्चुला जिल्ला अदालतले मंसिर १८ गते आइतबार उनिहरुको नाममा पक्राउपुर्जी जारी गरेको बुझिएको छ । गाउँपालिकाको वडा नम्बर ४ डोकट बस्ने गायत्री विष्टको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोही ठाउँ बस्ने दिपक विष्टको समेत भएको ज्यान सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटका ४० वर्षिय नर सिंह विष्टको शव मंसिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा भेटिएको थियो । मंसिर ३ गते रातिदेखि बेपत्ता भएका विष्ट भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए । विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानियले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मंसिर ३ गते दिउसो खलंगाबाट घर गएका थिए । यसै घट्नामा प्रहरीले सोही गाउँ डोकट, चौपखेका २५ वर्षिय दिपक विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा घट्नामा संलग्न रही नर सिंह विष्टको हत्या गरेको स्वीकार गरेको भन्दै मंसिर १२ गते ति व्यक्तीलाई सार्वजनिक गरेको थियो । दिपकले मंसिर ३ गते राती १० बजे तिर गाउँपालिकाको वडा नम्बर ४ डोब स्थित दार्चुला–तिंकर सडक खण्डमा नर सिंह विष्ट आफुले मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा विवाद भएको तथा उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीलाई बताएका थिए । सोही घट्नाका विषयमा थप सोधपुछ र अनुसन्धान गर्न थप तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

