दार्चुला : अज्ञात समूहले बिहीवार राति दुहुँ गाउँपालिका भवनमा ढुंङ्गामुङ्गा गरेको छ । रातिको करिब साढे १० बजेतिर पालिका भवनमा ढुंङ्गामुङ्गा भएको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडालले जानकारी दिए । यो सँगै साढे १० बजेको आसपास पालिकाका कर्मचारीलाई लक्षित गर्दै ढुंङ्गा हानिएको थियो । प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडालका अनुसार आफ्नो बस्ने क्वाटरका साथै गाउँपालिकाका सूचना अधिकृत बिरेन्द्र राज जोशी बस्ने घरको छतमा ढुंङ्गामुङ्गा भएको छ । सूचना अधिकृत जोशी बस्ने घरमा पालिका उपाध्यक्ष शान्ती बम पनि बस्नुहुन्छ ।
‘सुत्ने तयारीमा रहेका बेला ढुंङ्गा हाने जस्तो भयो, तर मैलै त्यसलाई सामान्य रुपमा लिदै कुनै साना बच्चाले हानेको हुन सक्ने बुझे, उनले भने, पछि पालिकाबाट पनि ढुंङ्गामुङ्गा भयो भनेर फोन आयो ।’ तीन ठाउँमा ढुंङ्गामुङ्गा हुदाँ शुक्रवार हिकिला प्रहरी चौकीमा निवेदन दिइएको बडालले बताए । कसले ढुंङ्गा हान्यो भनेर थाहा हुन नसकेको उनले बताए ।
