दार्चुला : महाकाली नगरपालिकाले सुपथ मूल्य पसल खारेज गर्ने भएको छ । ०७६ साल चैतदेखि ९ वटै वडामा स्थापना गरिएका सुपथ मूल्य पसल फागुन १ गतेदेखि खारेज हुने भएका हुन् । माघ ५ गतेको नगरकार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार हाललाई सुपथ मूल्य पसल स्थगित गरिएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताए ।
घर भाडामा लिइ संचालनमा रहेका सुपथ मूल्य पसल फागुन १ गतेबाट हट्ने नगरपालिकाले पत्रचार गर्दै सूचित गरेको छ । सुपथ मूल्य पसल प्रभावकारी रुपमा संचालन हुन नसक्दा हटाउनुपरेको नगरपालिकाको प्रतिक्रिया छ । साथै आर्थिक व्ययभार थपिएको जनाइएको छ । सुपथ मूल्य पसलबाट चामल, दाल, नून, तेल बिक्रि हुदै आएको थियो ।
मोटो चामलको बजार मूल्य २ हजार रुपैयाँ पर्छ, सुपथ मूल्य पसलमा मोटो चामल १ हजार ७ सय ५० रुपैयाँमा विक्रि वितरण हुदै आएको छ । सुपथ मूल्य पसल हट्ने भएपछि उपभोक्ताहरुले बजार मूल्यकै महंगो खाद्य सामान किन्नुपर्ने भएको छ ।
