दार्चुला: जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ बाट विजयी हुनु भएका प्रदेशसभा सदस्य बिक्रम सिंह धामीले पर्यटन क्षेत्रको विकास गरी समृद्धि ल्याउने तर्फ आफुले सक्दो पहल र ध्यान दिने बताउनु भएको छ । दुहुँ गाउँपालिकाको धारी पुगेर सबै मतदाताहरु संग भेटघाट गर्नु भएका सांसद धामीले पर्यटनको अत्याधिक सम्भावना बोकेका दुहुँ र ब्याँस गाउँपालिकालाई पर्यटकहरुको गन्तव्य बनाउने कुरामा आफु लागिपर्ने बताउनु भएको उहाको स्वकीय सचिव निरज बहादुर बमले जानकारी दिनुभयो ।
सांसद धामीले थलसिलिङचौरा बहुद्देशीय झोलुंगे पुलमा बञ्जीजम्प जोड्न प्रदेश सरकार संग माग तथा पहल गर्ने, दुहुँ गाउँपालिकामा २०७८ भाद्र १३ गते रातीको अबिरल वर्षा संगै आएको बाढी र पहिरो क्षति गरेका संरचना लगायतको पुनः निर्माण गर्न पहलकदमी गर्ने बताउनु भएको छ । यस्तै उहाले सिद्धटोपी देखी नौगाड गाउँपालिकाको नागेश्वर धाम सम्म जोड्ने पदमार्ग निर्माण गर्ने पनि बताउनु भएको छ । सांसद धामी अहिले क्षेत्र नम्बर १ अन्तरगतका मतदाताहरु संग भेटघाटमा रहनु भएको छ ।
