दार्चुला । सुदूरपश्चिम प्रदेश सभा सदस्यद्धय बिक्रम सिंह धामी र लक्ष्मी बिकले दार्चुलाका विकासे अड्डाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । प्रदेश सांसदहरुले खासगरी महाकाली कोरीडोर अन्तर्गतको तिंकर सडक, बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण र अन्य विकासे योजनाका विषयमा कार्यालय प्रमुखहरुसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । कार्यालय प्रमुखहरुसँगको छलफलमा बोल्दै प्रदेश सांसद बिक्रम सिंह धामीले जिल्लामा विद्युतीकरण, बस्ती विस्थापन, बाढी पहिरोको जोखिम लगायत थुप्रै समस्या रहेकाले यसका लागि सम्बद्ध कार्यालय र प्रदेश सरकारले तदारुकताका साथ काम गर्नुपर्ने बताउनुभयो । जिल्लाको विद्युत विस्तारको क्षेत्रमा ठेकेदारको धेरै लावरवाही रहेकाले काम तीव्र गतिमा संचालनका लागि कानूनी प्रक्रिया थाल्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । साथै उहाँले प्रदेशमा डल्लो र प्रिपेड बजेटको आतंक रहेको बताउनुभयो । यसबारे सुधारका लागि प्रदेश सचिवहरुसँग छलफल भइरहेको भन्दै संसदमा समेत कुरा उठाइने बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य लक्ष्मी विकले असारमा मात्रै हुने विकासे खर्चलाई रोक्नुपर्ने बताउनुभयो । असारमा हुने विकासे खर्च र बजेट फ्रिज नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले नयाँ कार्यदिशाका साथ आफूहरु अगाडी बढिरहेकाले समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । छलफलमा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले विकास निर्माणका काममा धेरै समस्या रहेको बताउनुभयो । तीव्र गतिमा हुनुपर्ने कामहरु नभइरहेको प्रति दुखेसो पोख्दै उहाँले यसका लागि आफ्नो समन्वय रहने प्रतिवद्धता गर्नुभयो । कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयले गरेका विकास निर्माणको कार्य प्रगतिबारे जानकारी गराएका थिए । सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख राम चन्द्र ओझाले कार्यालयको वित्तिय प्रगती ८० प्रतिशत बताउनुभयो । चालू आर्थिक वर्षमा १६ ओटा विद्यालय भवन निर्माणको चरणमा रहेको उहाले बताउनुभयो । यस्तै २०७७÷०७८ सालमा स्थापना भएको कार्यालयको बेरुजुको अवस्था शून्य रहेको बताउनुभयो ।
यस्तै महाकाली कोरिडोर सडक आयोजनाले जिल्लाको सलसेनाबाट तुसरपानीसम्म काम भइरहेको बताएको छ । कन्चरपुरको गड्डाचौकीदेखि जीरो पोइन्टदेखि तुसरपानीसम्म विस.ं ०८१÷८२ सम्म सडकको ट्याक खोलिसक्ने लक्ष्य लिएको जनाएको छ । यस्तै दार्चुला–बैतडी जोड्ने ८० मिटर पुल निर्माणका लागि ठेक्का प्रक्रिया थालिएको बताएको छ । यस्तै सिचाँइ कार्यालयले दुई क्षेत्र (तटबन्ध र सिचाँइ) मा काम गरिरहेको बताउँदै जिल्लामा २ सय ८० योजना कार्यान्वयनमा रहेको जनाएको छ । डिभिजन वन कार्यालयले पर्यटन र मन्दीर निर्माणका योजनामा काम भइरहेको बताउँदै ६० प्रतिशत कार्यप्रगती रहेको देखाएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले अहिले ६ माछा पोखरी निर्माण गरिएको तथा पशुपालनका क्षेत्रमा कार्यक्रम रहेको जनाएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाले प्रदेश कृषि विकास कार्यक्रम अन्तरगत काम भइरहेको जनाउँदै साना सिचाइमा १५ प्रतिशत काम सकिएको बताएको छ । विकास निर्माण दल २ गणले नेपाली सेनाले ७९ किलोमिटर सडक निर्माण अन्तर्गत गत वर्ष ८ किलोमिटर र यस वर्ष २ किलोमिटर सडक निर्माण गरेको बताएको छ । यस वर्षको कामको लागि सेनासँग ९ करोड ५० लाख बजेट रहेको जनाइएको छ । यस्तै सेनाले थी मा सेनाको बेस क्याम्प निर्माण गरेको जनाएको छ । १० वर्षे योजना अन्तरगत काम भइरहेको जनाउँदै ७९ किमी सडकको ट्याक खोली सक्ने सेनाले जनाएको छ ।
यस्तै छलफलमा अपि हिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले अपिहिमाल गाउँपालिकामा सडक निर्माणका लागि ब्लास्टिङ गर्नुपर्ने भएकाले अनुमति नपाउँदा काम गर्न नसकिएको बताउनुभयो । साथै जिलेटिनको म्याद गुज्रिरहेकाले यसको पहलका लागि आग्रह गर्नुभयो । निर्माण व्यवसायी उमेश महराले योजनाहरु सेटिङमा आउने गरेको आरोप लगाउदै यसको नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विकासे अड्डाका कार्यालयहरुले तदारुकताका कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले कार्यालय प्रमुखहरुसँग साप्ताहिक र मासिक रुपमा कार्य प्रगति लिने गरेको बताउनुभयो ।
