काठमाण्डौ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय त्रिविका बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनाव यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु चुनाव हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते चुनाव गराउन सहमति गरेका छन् ।
उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा चुनाव प्रक्रिया रोकिएको छ ।
उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा चुनाव गर्न बाँकी छ ।
यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भएको थियो ।
