दार्चुला । नेपालले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको लिपुलेक नाकाबाट भारतीय तीर्थयात्री तथा व्यापारीको ओहोरदोहोर बढेको छ।
भारतले पुनः सञ्चालनमा ल्याएको कैलाश मानसरोवर यात्रा–२०२६ अन्तर्गत नवौँ ब्याचका ४८ जना तीर्थयात्री लिपुलेक नाका हुँदै कैलाश मानसरोवर दर्शन गरी हिजो भारत फर्किएका छन्। फर्किने तीर्थयात्रीमा १२ जना महिला र ३६ जना पुरुष रहेको भारतीय पक्षले जनाएको छ।
भारतीय पक्षका अनुसार लिपुलेक नाकाबाट सञ्चालन भइरहेको कैलाश मानसरोवर यात्राअन्तर्गत हालसम्म नौवटा ब्याचमा गरी ४३२ जना तीर्थयात्रीले यात्रा गरिसकेका छन्। यस्तै, थप ४४ जना तीर्थयात्री कैलाश मानसरोवर दर्शनका क्रममा चीनमा रहेको बताइएको छ।
यसैबीच, साउन १६ गतेदेखि सोही नाकाबाट भारत र चीनबीच व्यापारिक आदानप्रदानसमेत पुनः सुरु भएको छ। व्यापार सञ्चालनको पहिलो दिन २० जना भारतीय व्यापारी भारतीय सामानसहित लिपुलेक नाका हुँदै चीनतर्फ गएको बताइएको छ।
लिपुलेक नाकाबाट तीर्थयात्री तथा व्यापारीको आवतजावत बढ्दै गएसँगै नेपालले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको उक्त क्षेत्रमा सीमा तथा सार्वभौमिकताको विषय पुनः चर्चामा आएको छ। भारतले भने लिपुलेकलाई कैलाश मानसरोवर यात्राको परम्परागत मार्गका रूपमा प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय