काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।
सहिलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने भएकाले पनि प्रतिपक्ष विरोधमा र सत्तापक्ष निरंकुश बन्न नहुने उनको तर्क थियो।
आइतबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सहीलाई सही भन्न सक्ने गरी राजनीतिक दलहरू अघि बढे मात्रै मुलुकको लोकतन्त्रको औचित्य पुष्टि गर्न सकिने समेत स्पष्ट पारे। उनले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई आफूले शून्यमा झारिदिएको दावी गरे।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालको लोकतन्त्र मौलिक खालको भएको उल्लेख गर्दै त्यसलाई उन्नत ढंगले अघि बढाउने विषयमा राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै अघि बढनुपर्ने आवश्यकता औंल्याए।
उपप्रधानमन्त्री श्रेष्ठले वर्षातका कारण हुने विपद जोखिम न्यूनिकरणका लागि सरकारले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा राखेको दावी समेत गरे। त्यसका लागि आवश्यक लगानी र साधनको व्यवस्थापन गर्ने कार्यलाई पनि सरकारले तीव्रता दिएको उनको भनाइ थियो।
‘विपद जोखिम न्यूनिकरणका लागि आवश्यक लगानी र साधन स्रोतको व्यवस्थापन गर्ने क्रम समेत जारी छ। सबै सरोकारवाला संघीय निकाय एवं सुरक्षा निकायहरूको भूमिका र जिम्मेवारी निर्धारण गरी जारी गरिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०८० जारी भई तदनुरुप काम कारबाही अगाडि बढिरहेको छ। सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सुरक्षा निकायसहित सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइ सकिएको छ। र, सोही बमोजिम खोज, उद्दार तथा राहत व्यवस्थापन भई पनि रहेको छु, उनले भने, ुविपद् उत्थानमैत्री शासन व्यवस्थाको सुदृढीकरण गर्न विपद सम्बन्धी कार्य हेर्नका लागि छुट्टै संस्थाको रुपमा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना भइ विपद व्यवस्थापनका विभिन्न कार्यहरू अगाडि बढिरहेको छ। सम्माननीय प्रधानमन्त्रीजीको अध्यक्षतामा राष्ट्रिय परिषद, गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी परिषद, प्रदेशमा प्रदेश परिषद र कार्यकारी समिति, जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिहरू विपद उत्थानशील शासन पद्धतिको सुदृढीकरणमा संस्थागत रुपमै क्रियाशील छन्।’
उपप्रधानमन्त्री श्रेष्ठले विपद व्यवस्थापनका लागि स्थानीय तहमा रहेका विपद व्यवस्थापन समितिहरूलाई पनि सक्रिय बनाइएको बताए। थाहा खबर
