दार्चुला । नेपाली काँग्रेस दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला कार्य समिति सभापति ललित सिंह बोहराको अध्यक्षतामा भएको जिल्ला सम्मेलनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यततामा उद्घाटन गरिएको हो । जिल्ला सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । नेपाली काँग्रेसको बिधान अनुसार एक एक वर्षमा जिल्ला सम्मेलन गर्नुपर्ने भएकाले सोही अनुसार असारमा जिल्ला सम्मेलन गरिएको उनले बताए ।
प्रस्तुत सांगठनिक प्रतिवेदन अनुसार नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति बैठक १० महिनाको अवधिमा ३ पटक, कार्य सम्पादन समितिको बैठक ३ पटक, संसदीय समिति बैठक २ पटक, अनुशासन समिति बैठक पनि २ पटक बसेको छ । पार्टीले केही वडामा वडा सम्मेलन र प्रदेश क्षेत्रीय सम्मेलन प्रदेश सभा क्षेत्र नम्बर १ मा सम्पन्न गरेको जनाएको छ । यस्तै पार्टीले रुपान्तरण एकता र जीत अभियान १ पटक संचालन गरेको जनाएको छ । यस्तै गत वर्ष सम्पन्न प्रदेश तथा संघको निर्वाचन समीक्षा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यसैबीच प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा कोष बढाउनुपर्ने, पार्टीलाई बुझाउनुपर्ने लेबी धेरैले नबुझाएको, कोष अनिवार्य गर्ने र आर्थिक हिनामिना गर्ने र जिम्मेवारी बहन नगर्नेलाई कारवाही गर्नुपर्नेजस्ता विषय समावेश गरिएका थिए ।
राजनीतिक प्रतिवेदन सभापति ललित सिंह बोहराले प्रस्तुत गर्नुभएको थियो भने सांगठनिक प्रतिवेदन पार्टी सचिव पुलेन्द्र बहादुर कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हंसराज भट्टले प्रस्तुत गर्नुभएको थियो ।
नेपाली काँग्रेस दार्चुलाले आगामी आर्थिक वर्षको कार्ययोजना समेत सार्वजनिक गरेको छ । पार्टी सचिव माधव भट्टले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको पार्टीगत कार्यक्रम योजना अन्तर्गत साउन महिनामा वडा पालिका, प्रदेश सभा सम्मेलन सम्पन्न गर्दै सदस्यता र कृयाशिल सदस्यता वितरण, नविकरण कार्य गर्ने जनाएको छ । यस्तै शाखाहरुको पूर्णता, जिम्मेवारी बाडफाड, विचार गोष्ठी जस्ता कार्यक्रम संचालन गर्नेछ । यस्तै अन्तरक्रिया, जिल्ला कार्यसमिति बैठक, जिल्ला कार्य सम्पादन बैठक, नेविसंघ र तरुण दलको जिल्ला अधिवेशन , वडा स्तरीय प्रशिक्षण कार्यक्रम , अर्धवार्षिक समीक्षा, सुशिल कोइराला स्मृति दिवस माघ २६ गते उत्कृष्ठ किसानलाई सम्मान कार्यक्रम, युवा आत्मनिर्भर गोष्ठी, वडा सम्मेलन, पालिका, प्रदेश सम्मेलन गर्ने जनाइएको छ । यस्तै आगामी वर्षको जेठ महिनामा जिल्ला सम्मेलन र असाढ महिना वार्षिक समीक्षा गर्ने कार्य योजना नेपाली काँग्रेस दार्चुलाले तय गरेको छ । जिल्ला सम्मेलनमा नेपाली काग्रेस क्षेत्रीय अधिवेशन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, प्रदेश सभा क्षेत्रीय कार्य समिति, गाउँपालिका,नगरपालिका कार्य समिति, भातृ तथा शुभेच्छुक संघसंस्था लगायत नेता कार्यकर्ताहरुको उपस्थिति गरेको थियो ।
