काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले केन्द्रमा २२ वटा विभाग थप गरेर विभागको जम्मा संख्या ७० पुर्याउन प्रस्ताव गरेका हुन् ।
यसअघि विभागको संख्या ४८ भए पनि विधानमा भने अहिलेसम्म एउटा सूचना सञ्चार विभागमात्र गठन भएको छ । विधानअनुसार ६ महिनामा गठन गरिसक्नुपर्ने भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको डेढ वर्षसम्म पनि विभाग गठनमा चासो दिएका छैनन् ।
महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागलाई पूर्णता दिन प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी स्थापना दिवसमा पार्टीको कुनै पदमा वहाल रहेको प्रत्येक व्यक्ति आफू क्रियाशील रहेको वडामा पुगेर कुनै न कुनै सामाजिक कार्यक्रममा सरिक हुनुपर्नेलगायत प्रस्ताव गरिएको छ । कान्तिपुर
