काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिकरुपमा अगाडि बढ्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरू सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन्।
उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए। उनले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न आग्रह गरे।
उनले केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए।
‘तपाइँहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो। अहिलेसम्म सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्, चाहे रामचन्द्रजी होस्, चाहे कृष्ण सिटौला होस्, चाहे शेखर कोइराला होस्। हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो’, उनले भने, ‘आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्तरुपले झगडा नगर्दा यो भनाई खाइरहनुपरेको छ। त्यसकारण म सुझाव दिन चाहन्छु तपाइँहरूले टिम बनाउनुस्। त्यो टिम बनाउनुभयो भने तपाइँहरूलाई समयले स्वागतका लागि प्रतीक्षा गरिरहेको छ। टिम बनाउनुस्। विचारका कुरा अगाडि ल्याउनुस्। कसैले केही गरेर हुन्न।’
उनले समयले युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको बताए। हामीले आन्दोलन गर्न जाने पनि सत्ता चलाउन नजानेको उनले बताए।
‘म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ। ८० वर्ष पुग्न थाल्नुभएको छ। जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ, अब उहाँहरूले नेतृत्व लिनुपर्यो। भलै मैले चुनाव हारिसके। हामी तपाइँहरूको पछाडि छौँ, सहयोगी छौँ। तर तपाइँहरू अबदेखि सँगै हिँड्नुस्। मिटिङ राख्नुस्। एजेन्डा तयार गर्नुस्। तबमात्रै कांग्रेस बन्छ। एक्लै कहीँ पुग्न सकिँदैन। वीपी कोइराला त एक्लै पुग्न सक्नुभएन। जोसँग सबैकुरा थियो’, उनले थपे, ‘मैले आज युवा तरुण साथीहरूलाई आग्रह गरेँ, भन्नुस् शेरबहादुरजीलाई यत्रो केन्द्रीय समिति बन्यो, सदस्यहरू बने, लौन फलानालाई राख्नुपर्छ भन्न नसक्नेहरूले भोलि अरुको प्रतिनिधित्व गर्न सक्दैन। भाषण गरेर हुँदैन। उत्तर दिएर हुँदैन। अब त प्रश्न गर्न जान्नुपर्छ।’
उनले टिम नै बनाएर अगाडि बढ्न पनि आग्रह गरे। टिम बनाएर अगाडि बढेमा युवाहरूलाई स्वागत गर्न समयले पर्खिरहेको उनको भनाइ छ। थाहा खबर
