बैतडी । जनताको सेवाका लागि दिनरात खटिरहने बैतडीकी एक उपमेयरले आफ्नो लागि आएको तलब भत्ता गरिब तथा जेहेन्दार छात्रा छात्रलाई प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने बताएकी छिन् ।
जिल्लाको जेठो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाकी उपमेयर कौशीला चन्दले आफ्नो तलबभत्ता २२ जना गरिब तथा जेहेन्दार छात्रा छात्रलाई प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने बताएकी हुन् ।

नगरपालिकाबाट मासिक रुपमा प्राप्त हुने रकम आफुले जम्मा गरेर पालिका भित्रका २२ जना छात्रा÷छात्रहरुलाई बार्षिक ५० हजारका दरले सहयोग गर्ने उनको भनाई छ ।
नगरपालिकाको उपमेयरमा निर्वाचित भएको एक बर्षमा आफूले प्राप्त गरेको पारिश्रमिकबाट प्राविधिक शिक्षा पढ्न चाहने दलित र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्ने उपमेयर चन्दले बताईन्।
प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई सो रकम प्रदान गरिने उनको भनाई छ ।
उपमेयर चन्दले नगरपालिकाबाट कुनै सेवा सुबिधा लिएकी छैनन् । उनी आफ्नै निजी गाडी चढ्ने गरेकी छन् ।
राजनितीमा आउनु पुर्व उपमेयर चन्द लाई लामो समयको शिक्षण अनुभव पनि छ । जनताहरुको सेवाको लागि राजनितीमा आएको र आफु नेता नभई समाजसेबी भएको उनी बताउछिन् ।
उपमेयर चन्द नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् ।
