उमेश दत्त बडु कैलाली । सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या हुने कन्जक्टिभाइटिस भाइरसको संक्रमण तिब्र रुपमा फैलिएसंगै पहाडी जिललाहरुमा पनि फैलिरहेको छ ।

तराईका दुबै जिल्लामा कन्जक्टिभाइटिस रोगका बिरामीहरुले अस्पत्ताल तथा मेडिकलहरु भरिभराउ भएका छन् । यो भाइरसको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या निकै बढेको छ ।

गेटा आँखा अस्पताल कैलालीका प्रमुख डा. सुरेशराज पन्तका अनुसार कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताए ।

गेटा आँखा अस्पताल दैनिक रुपमा करिब पाँच सय जना अस्पत्ताल आउने गरेकोमा जसमध्धे ७० प्रतिशतमा कन्जक्टिभाइटिस संक्रमण देखा पर्ने गरेको डा. पन्तले जानकारी दिए ।

कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधराचाँदनी लगायतका स्थानका आँखा उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको पन्तले बताए । ‘यो सामान्य किसिमको भाइरस भएकाले लगभग १४, १५ दिनमै आफैं निको हुन्छ उनले भने—‘यो दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल हो यसको लागि औषधी पनि त्यति जरुरी छैन, तर कहिलेकाहीँ यो सँगै ब्याक्टेरियल इन्फेक्सन हुने सम्भावना हुन्छ, ‘त्यो नहोस् भनेर एन्टिबायोटिक औषधीको प्रयोग गर्नुपर्छ ।’

खासगरी पहाडी जिल्लाहरु मध्धे बढिजसो दार्चुला जिल्लामा यो रोग तिब्र गतिमा फैलिरहेको छ । आँखा उपचार केन्द्र दार्चुलाका नेत्र सहायक कमल बिष्टका अनुसार दैनिक रुपमा ५० देखि ६० जनामा कन्जक्टिभाइटिस भाइरसको संक्रमण देखिने गरेको छ । नेत्र सहायक बिष्टले भने—‘करिब एक हप्ता देखि जिल्लामा कन्जक्टिभाइटिस भाइरल रोगको संक्रमण फैलिएपछि बिरामीहरुलाई आवश्यक सुझाव सल्लाह दिईरहेका छौँ’ । ‘यो दीर्घकालीन रुपमा असर पार्ने खालको रोग होईन यो रोग सबै उमेर समुहका ब्यक्तिहरुमा देखिने गरेको छ यो सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ’ ।

आँखा उपचार केन्द्रमा मात्रै नभएर जिल्लाका बिभिन्न मेडिकलहरुमा पनि आँखामा लाग्ने कन्जक्टिभाइटिस भाइरल रोगका बिरामीहरु आउने गरेका छन् । जिल्लामा यो रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।

यस्तै, बैतडीमा पनि यो रोग तिब्र गतिमा फैलिरहेको छ । आँखा उपचार केन्द्र बैतडीका नेत्र सहायक धर्मेन्द्रराज भरका अनुसार यहाँ दैनिकजसो कन्जक्टिभाइटिस रागका बिरामीहरु ५ देखि १० जना सम्म आउने गरेको बताए । उनीहरुलाई औषधि सहित आवश्यक सुझाव सल्लाह दिने गरेको उनले बताए । जिल्ला अस्पत्ताल बैतडीमा पनि आज (बिहीबार) मात्रै १५ जना बिरामी आएको अस्पत्ताल ब्यवस्थापन अधिकृत सुमनकुमार महराले जानकारी दिए ।

बझाङमा पनि यो रोग तिब्र गतिमा फैलिएको देखिएको छ । आँखा उपचार केन्द्र बझाङका कार्यालय प्रमुख खडक भाटका अनुसार दैनिक रुपमा १५ देखि २० जनाको हाराहारीमा कन्जक्टिभाइटिस रोगका बिरामी आउने गरेका छन् ।

लक्षणहरु
१. आँखा रातो तथा गुलाबी देखिनु, चिलाउनु र पानी बग्नु
२. एउटा मात्र वा दुवै आँखा प्रभावित हुनु
३. हल्का दुख्नु वा आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु
४. आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु
५. निदाएर उठ्दा च्याप्च्याप् लाग्ने पदार्थले आँखाका परेला एकआपसमा टाँस्सिनु
६. प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु ।

यदि तपाईंले तलका लक्षणहरु पाउनुभयो भने त्यो जटिल आँखा पकुवा रोग हुन सक्छ र तत्कालै डाक्टरलाई देखाउनु पर्दछ 

तिब्र आँखा दुखाई, दृष्टिमा कमी, उज्यालोमा हेर्न कठिनाई, आँखा वरिपरिको छाला मा चाला, आँखा रातो हुनु सँगै लिंग वा योनिबाट सेतो पदार्थको स्राव, चश्मा लगाउने मानिसमा आँखाको समस्या, नवजात शिशुका आँखा पाकेमा र आँखा पाकेको लक्षण मा सुधार हुँदै नगएमा

उपचारका विकल्पहरु 

१. विरामीको इतिहास बुझेर तथा आँखाको जाँच गरेर फिजिसियनले आँखा पकुवा रोगको उपचार गर्न सक्छन् । कहिलेकाहीं थप जाँचहरु गर्नुपर्ने र आँखारोग विशेषज्ञ सँगै परामर्श लिनुपर्ने हुन्छ । धेरैजसो एलर्जी तथा भाइरल आँखा पाक्ने रोगहरु आँफै सञ्चो हुन्छन् तर अन्य कतिपय आँखा पाक्ने समस्याको समाधान उपचारबाट गर्नु पर्छ ।

२. ब्याक्टेरियल आँखा पकुवा सामान्य छ भने आँफै ठीक हुन्छ । असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नु पर्छ । गोनोकोक्कल आँखा पकुवा (प्रौढ र नवजात शिशुमा) गम्भीर समस्या हो र यसलाई तत्कालै उपचार गर्नु पर्छ ।

३. भाइरल आँखा पकुवा आँखाको लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखा मा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ । भाइरस विरोधी निश्चित औषधि छैनन् ।

४. एलर्जीका कारण हुने आँखा पकुवा एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल (एन्टीहिस्टामिन, मास्ट सेल स्टाबिलाइजर) को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरु बाट टाढा रहेर यस किसिमको आँखा पाकुवाको उपचार गरिन्छ ।

५. वाह्य वस्तुहरुका कारण हुने आँखा पकुवा आँखा मा कन्ट्याक्ट लेन्स छ भने तेसलाई झिक्ने, श्याम्पू आदि को प्रयोग गर्दा आँखा लाई जोगाउने तथा आँखा लाई चिप्लो पार्ने किसिम को झोल औषधि को प्रयोग गर्ने गरिन्छ ।

रोकथाम वा बचावट

१. भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने । हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने ।

२. आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने ।

३. अत्यन्त वृद्ध वा साना शिशुसँग बढी सम्पर्कमा नरहने । किनकि तिनीहरुको रोग प्रतिरोधी क्षमता कम हुने हुँदा तिनीहरुमा चाँडो संक्रमण हुन सक्छ ।

४. एउटा आँखाबाट अर्को आँखा मा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधि को प्रयोग गर्ने र हात राम्ररी धुने ।

५. यदि स्वास्थ्य सँग तथा बालबच्चा सँग सम्बन्धित काम गर्नु पर्ने छ भने काम मा जानका लागि चिकित्सक सँग परामर्श गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय