कैलाली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी निर्वाचनमा नेकपा पहिलो दल बन्न दाबी गरेका छन् । गठबन्धन दलको क्रियाकलापदेखि जनता निरास भइसकेकोले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गरि एकल सरकार सञ्चालन गर्ने धनगढीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बताएका हुन् ।
‘यो सरकारलाई जनताका समस्या समाधान गर्न तर्फ ध्यान दिनुभन्दा सत्ता टिकाउनमै लागि रहेको छ’ उनले भने –‘गठबन्धनको सरकारका कारण जनताहरु निराश छन् । त्यसैल अब ०८४ मा हुने निर्वाचनमा एमालेले बहुमत पाउँछ । सरकार एक्लै चलाउँछ ।’ आगामी निर्वाचनमा बलियो शक्ति सहित एकल बहुमतको सरकार गठन गर्ने योजना सहित पार्टी अगाडी बढेको र सोही अनुसार अघि बढ्ने उनले नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
उनले एमालेमा माओवादी कार्यकर्ताहरूको लागि ढोका खुल्ला रहेको बताए । पोख्रेलले माओवादी भित्र बलिदानी गरेका कार्यकर्ताहरूलाई स्वागत गर्ने तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको लागि भने ढोका बन्द रहेको बताए ।
उनले भने, ‘माओवादी भित्र बलिदानी गरेका कार्यकर्ताहरू वामपन्थी आन्दोलनका सम्पत्ति हुन् । बलिदानीका लागि लडेका, राष्ट्रको लागि समाजको लागि केहि गर्छु भन्नेहरूको लागि प्रचण्डले धोका दिए पनि हामी स्वागत गर्न तयार छौँ । हामीले स्वागत नगर्ने भनेको दुइटालाई हो । माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दैनौँ अरू बाकीलाई ढोका खुल्ला छ ।’
माओवादी नेतृत्वको सरकार कांग्रेसले दाबी नगर्दा सम्म मात्रै चल्ने पोख्रेलको दाबी थियो ।
‘जुन दिन सरकारमा कांग्रेसले दाबी गर्छ त्यसपछि माओवादीको खेलो सधैको लागि सकिन्छ । कांग्रेसले धैर्य राख्दा सम्म माओवादीका फुर्ती हुन’ पोख्रेलले भने ।
भेलामा सहभागी एमाले सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी प्रति जनताको विश्वास बढिरहेको बताएका थिए । उनले आगामी निर्वाचन मार्फत पार्टीको एकल बहुमतको सरकार गठन गर्न कसैले नरोक्ने दाबी गरे । केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले कैलाली जिल्लामा देखिएको पार्टी प्रतिको उत्साहले देश भरी एमाले प्रतिको मोह बढिरहेको सङ्केत गरेको बताएका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई महासचिव पोख्रेलले स्वागत गरेका थिए ।
