कैलाली । सार्वजनिक लिखत प्रमाणीकरण ऐन संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहि असोज १० गते प्रदेश सभा सचिवालयमा दर्ता गराएको संशोधन विधेयक बुधबार सभामा पेश भएको हो ।

विधेयकलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सभामा पेश गरेको सचिवालयले जनाएको छ ।
संशोधनका लागि पेश भएको विधेयकमा प्रदेश सरकारले बनाएका गठन आदेश, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्डहरु राजपत्रमा प्रकाशित भएपछिमात्र मन्त्रालयको वेबसाईटमा राखिने व्यवस्था गरिएको छ । यसअघि सो विधेयकमा हष्ताक्षर भएपछि विधेयक वेवसाइटमा राखिने व्यवस्था उल्लेख थियो ।
संशोधन मस्यौदामा भनिएको छ –‘हष्ताक्षर भन्ने शब्द पछि गरी प्रमाणित भन्ने शब्द थप गरिएको छ भने र यस्ता ऐन वेवसाइटमा राखिनेछ भन्ने शब्द हटाइ प्रदेश राजपत्रमा प्रकाशित भएको ऐन मन्त्रालयको वेवसाइटमा राखिने छ ।’
दोस्रो अधिवेशनको २४ औं बैठक १ बजेदेखि बसिरहेको छ । सभामुख भिमबहादुर भण्डारीका अनुसार शून्य समयमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा बोल्ने कार्यसूचि रहेको छ ।
