काठमाडौँ कार्तिक ०४ । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ । गृह मन्त्रालयको बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् । त्यति नै संख्यामा हराइरहेका गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । इलाममा १४, पाँचथरमा २८, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १र१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ । २० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् । डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ । २१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । ‘विपद्का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन्,’ बिहीबार साँझको प्रहरी बुलेटिनमा भनिएको छ । प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव बिहीबार बिहान फेला परेको छ । माण्डवी गाउँपालिका–४ आँपचौरका दुई वर्षीय दिनेश कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता, प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
शव त्रिवेणीधाम बगरमा स्थानीयले फेला पारेका थिए । उनीसँगै अरङखोलाले बगाएकी २८ वर्षीया देवीसरा कार्कीको बुधबार नै मृत्यु भएको थियो । एक जना अझै बेपत्ता छन् । स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजी भइरहेको गैरेले बताए ।
इलामको माङ्सेबुङ–६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको पनि बिहीबार शव फेला परेको छ । यसअघि उक्त स्थानबाट हरिप्रसाद राई र कविता राईको शव निकालिएको थियो भने ३ जनालाई सकुशल उद्धार गरिएको थियो । तीमध्ये गम्भीर घाइते भक्तकुमारी राई र जनम राईलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धरानको घोपा क्याम्पमा उपचारका लागि लगिएको छ । रनश्वरी राई अझै बेपत्ता छिन् ।
इलाम नगरपालिका–२ घर भएका ठाकुर याक्खा र माङ्सेबुङ–२ का सुमन राई, स्थानीय विद्यालयका प्रधानाध्यापक विष्णु लावती पनि बेपत्ता छन् । माङ्सेबुङको पञ्चमीस्थित बाँझो स्वास्थ्यचौकीमा कार्यरत राई र याक्खा सोमबार साँझ पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कुरुम्बामा पहिरोले घाइते बनाएकाहरूको उपचारमा गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् । ‘बेपत्ताहरूको खोजीका लागि दुवै जिल्लाबाट प्रयास भइरहेको छ,’ इलाम प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले भने ।
यसअघि फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जना, सूर्योदय नगरपालिकामा ३ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो । त्यस्तै, देउमाई नगरपालिकामा १ जनालाई खोलाले बगाएर तथा माई नगरपालिकामा हुरीले रूखको हाँगा खस्दा थप एकको ज्यान गएको थियो ।
बाढीले मोटरसाइकलसहित बगाएको सुनसरीका एक पुरुषको पनि शव भेटिएको छ । सुनसरी प्रहरीका डीएसपी नगेन्द्रकुमार कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–२ शान्तिनगर बस्ने ३१ वर्षीय योगेन्द्र तिवारीको शव आँपगाछीमा बिहीबार बिहान फेला परेको हो । मंगलबार दिउँसो बाढीले तिवारीलाई तरहराको पानीपियाबाट मोटरसाइकलसहित बगाएको थियो । बाढीले बगाएका अन्दाजी ६० वर्षीय पुरुषको शव बुधबार दिउँसो आर्मी क्याम्पनजिकै फेला परेको थियो । सताही मण्डल, राजकुमार राई, रोशन बुढाथोकी र ईश्वरी पराजुली अझै बेपत्ता छन् ।
विराटनगर विमानस्थल शनिबारदेखि खुल्ने
मंगलबार रातिदेखिको वर्षाले जलमग्न बनेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । बुधबार धावनमार्गमा ३ फिटसम्म पानी जमेको थियो ।
मौसम खराबीसँगै उडान गर्न नसक्दा श्री एयरलाइन्स र बुद्ध एयरका दुई विमान मंगलबार साँझदेखि यहीं रोकिएका छन् । धावनमार्गमा जमेको पानी सुकेपछि बिहीबार अपराह्नतिर दुवै विमानलाई रित्तै काठमाडौं पठाएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए । धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान खुलाउन समय लागेको उनको भनाइ छ । ‘कार्यालयभित्र अझै पनि डेढ फिटसम्म पानी जमेको छ । शुक्रबार साँझसम्म पानी सुकाएर धावनमार्ग सफा गर्ने, डुबेका उपकरणको परीक्षणपछि सबै सुरक्षित पाइएमा शनिबार बिहानदेखि उडान सुरु गर्ने तयारीमा छौं,’ उनले भने । यो विमानस्थलबाट काठमाडौंसहित पूर्वका विभिन्न पहाडी जिल्लामा दैनिक २१ वटासम्म उडान हुँदै आएका थिए ।
४० घण्टापछि प्रदेश १ मा विद्युत् आपूर्ति
सबस्टेसनमा बाढी पसेपछि अवरुद्ध प्रदेश १ को विद्युत् सेवा बिहीबार दिउँसोदेखि पुनस् सञ्चालनमा आएको छ । प्रदेशभर विद्युत् वितरण हुँदै आएको दुहबी ग्रिडको १३२ केभी सबस्टेसनमा बाढी पस्दा प्रदेशभर करिब ४० घण्टा विद्युत् सेवा ठप्प भएको थियो ।
कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा सबस्टेसनमा जमेको पानी हटाई सबस्टेसनको उपकरण जाँच गर्दा ठूलो क्षति नभएको पाइएपछि सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गरी विद्युत् आपूर्ति गरिएको दुहबी ग्रिडले जनाएको छ । यो ग्रिडमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभीए छ ।
मेची राजमार्ग खुल्यो
ठाउँ–ठाउँमा पहिरो गएर सोमबार रातिदेखि अवरुद्ध मेची राजमार्ग खुलाइएको छ । इलामको रक्से देउमाई खोपमा पहिरो पन्छाएसँगै यातायातका साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहानदेखि नै अवरुद्ध स्थान खुलाउन सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटेका थिए । सोमबार साँझदेखि परेको अविरल वर्षापछि साना–ठूला पहिरो जाँदा राजमार्गको इलाम खण्ड अवरुद्ध बनेको थियो । जसका कारण धेरै संख्यामा यात्रुहरू सडकमै अलपत्र परेका थिए । साभार कान्तिपुर