
दार्चुला: दार्चुला जिल्लामा मनसुनसँगै आउने प्राकृतिक विपद्का कारण करिब ८ हजार १ सय २३ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको “मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८२” अनुसार बाढी, पहिरो, चट्याङ, भूकम्प र रोगजन्य महामारी जस्ता घटनाबाट जिल्लाका ३ हजार १ सय ९८ घरधुरी प्रत्यक्ष जोखिममा पर्ने देखिएको हो।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका जोखिमयुक्त स्थानहरुको अध्ययन गरी प्रतिकार्य योजना तयार गरिएको हो। भौगोलिक र पर्यावरणीय दृष्टिले दार्चुला बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा रहेको जिल्लाका रुपमा चिनिन्छ।
सबैभन्दा बढी जोखिममा दुहुँ गाउँपालिका पर्दछ। उक्त पालिकाको वडा नम्बर २ का नरोली, राता, गुना, अफरे तथा वडा नम्बर ५ का बथ्थोली, सीमार, सुतखोला र वडा नम्बर ३ को श्रीबगरबस्ती गरी ४५० घरधुरी र २,५०० जनसंख्या प्रभावित हुने देखिएको छ।
नौगाड गाउँपालिकाको जात्रा, गोधानी, बगड, सुण्डमुण्ड, दल्लेक, पारीखार, सीमार, जामिर, खुपिलगाउँ, होपरी, मल्लामट्टे, कपरे, उडालु, श्रीबगड, सौकेबगड, धुलीगडा, रैचु, गडिगाड, परिगाउँ र थागिलगाडा गरी करिब २५० घरधुरीका ७०० जनसंख्या जोखिममा छन्।
अपिहिमाल गाउँपालिकाका आरुखोडी, ल्वाथी, गौडेखोला, राताभिटा, खिर्सा, क्षेत्ति, घाजिर, चौकीबगड, मज्जे, ककनाडी, धङ्कङ, धमलाड र पानीमुल जस्ता बस्तीमा २० घरधुरीका करिब ६०० जनसंख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ।
त्यस्तै ब्याँस गाउँपालिकाका मडगाउँ, गल्याबस्ती, तुसारपानी र तुसराडी क्षेत्रका ९० घरधुरीका ४५० जनसंख्या बाढी र पहिरोको उच्च जोखिममा छन्।
महाकाली नगरपालिका अन्तर्गत श्रीबगड, बडालीगाउँ, मुल्ला र वडा नं. ४ का केही स्थानहरुमा ५५० घरधुरीका १,७५० जनसंख्या जोखिममा पर्ने देखिएको छ।
मालिकार्जुन गाउँपालिकामा १०० घरधुरीका ६०० जना, मार्मा गाउँपालिकामा २० घरधुरीका १५० जना, लेकम गाउँपालिकाका १९ बस्ती र शैल्यशिखर नगरपालिकामा १,३७३ जनसंख्या जोखिममा पर्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
योजना अनुसार सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धार, राहत, स्वास्थ्य सेवा, सुरक्षित स्थल व्यवस्थापन लगायतका तयारीलाई चुस्त र प्रभावकारी बनाइएको छ।