बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले वडा नं ५ स्थित हरिनगर क्षेत्रमा निर्माण गरिएका अवैध घरटहरा हटाउन आग्रह गरेको छ। गएको भदौ २९ गते सूचना प्रकाशन गरेर घरटहरा हटाउन आग्रह गरेको पालिकाले फेरि घरटहरा हटाउन आग्रह गरेको हो।
पहिलो सूचना अनुसार सार्वजनिक क्षेत्रमा निर्माण गरिएका घर टहरा कसैले नहटाएकाले अवैध घरटहरा हटाउन अन्तिम पटक सूचना जारी गरिएको गाउँपालिका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताए।
हरिनगर क्षेत्रमा खेलमैदान निर्माण भइरहेको र खेलमैदान विस्तार हुने क्षेत्रमा अवैध संरचना रहेकाले पौष १० गते सम्म हटाइसक्न आग्रह गरिएको उनले बताए। पौष १० गतेभित्र अवैध रुपमा निर्माण गरिएका संरचना नहटाएमा कानुन बमोजीम पालिकाले आँफै संरचना भत्काउने प्रवक्ता भट्टले बताए।
यस्तै खेल मैदान निर्माणस्थल वरपर विभिन्न निर्माण सामग्रीहरु राखिएकाले त्यस्ता सामग्री समेत हटाउन भनिएको छ। सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनका लागि उपभोग गर्न नपाइने भएकाले पालिकाले पटक–पटक घर टहरा तथा निर्माण सामग्री हटाउन भन्दै आएको छ।
तर पालिकाको सूचनाको स्थानीयहरुले भने अवज्ञा गर्दै आएका छन्। हरिनगर क्षेत्रमा सार्वजनिक जमीनमा ५-६ ओटा घर टहरा रहेको बताइएको छ।
