शान्ती प्रसाद जोशी, धनगढी: धनगढीमा रहेको पञ्चोदय माध्यमिक विद्यालयले ५८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको हो। सुदूरपश्चिमको मुटु धनगढीको हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमका बीच आफ्नो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बम सभापति रहेको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्त प्रमुख अतिथि रहेका थिए।

शिक्षक अभिभावक सङ्घकी शिक्षिका सावित्री जोशीले वार्षिक उत्सवमा उपस्थित हुने सबैलाई आफ्नो स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिइन्। उनले आजसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकप्रति कृतज्ञता व्यक्त गर्दै सबैलाई स्वागत गरेकी थिइन्। उक्त कार्यक्रममा फरकफरक कला संस्कृति र सभ्यताको प्रस्तुति प्रस्तुत गरिएको थियो। सुदूरपश्चिममा रहेका कला र संस्कृति झल्किने खालका प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा बोल्दै ऐश्वर्या विद्या निकेतनका प्रधानाध्यापक प्रेमनिधि ओझाले ऐश्वर्या विद्या निकेतन र पञ्चदयाको मित्रता प्रगाट रहेको र अझै रहने समेत व्यक्त गरेका थिए। वार्षिक उत्सवको शुभकामना दिँदै उनले पञ्चोदय माविलाई देशकै नमुना स्कुलका रूपमा स्थापना हुने समेत विश्वस्त रहेको व्यक्त गरेका थिए।
साथै कार्यक्रममा विभिन्न क्षेत्रबाट विद्यालयलाई हयोग पुर्याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई मायाको चिनोको साथमा विशेष रूपमा सम्मान गरिएको थियो।

२०७९ सालको कक्षा आठको परीक्षाको प्रतिफल अनुसार धनगढीका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी पास हुने सङ्ख्या समेत पञ्चोदय माध्यमिक विद्यालयकै रहेको थियो। नेपाली तथा अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने विद्यालयमा विद्यार्थीको चाप पनि उत्तिकै रहेको छ। निजी विद्यालयभन्दा पढाइको गुणस्तर सामुदायिक विद्यालयमै पाइन थालेपछि विद्यालयप्रतिको आकर्षण बढ्न थालेको हो। धनगढी मात्रै नभई सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थी समेत पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका छन्।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बमले विद्यालयले राम्रो राम्रो गुणस्तर प्राप्त गर्दै गइरहेको र अभिभावकको साथ सहयोग समेत आफूले पाइराखेको र अझै पाउने समेत आशा व्याक्त गरेका छन्। उनले भने सकेसम्म राम्रै काम गरेको र कुनै काममा केही असन्तुष्टि वा केही संकोच भएमा विद्यालय व्यवस्थापन समिति सँग बसेर समस्याको समाधान गर्न सकिने उनले बताए। उनले भने विद्यालय व्यवस्थापन समिति र स्कुल प्रशासनप्रति कुनै गुनासो भए कुनै सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा प्रस्तुत गर्नुभन्दा विद्यालय व्यवस्थापन समिति र प्रशासन समितिसँग बसेर कुराको छलफल गर्न समेत आग्रह गरेका हुन्।
