खोटाङ– जवरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन्। १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन।
आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेका करारका अहेव हुन्। मावली हजुरआमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएको बेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी (क) को दावी छ।
घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए। मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ।
स्वास्थ्यचौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र काजकिरियाको काममा लाग्दा उजुरी दिन ढिलाइ भएको पीडितको भनाई छ। माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि मात्रै पीडित प्रहरीचौकी धर्तुङ पुगेकी थिइन् ।
