धनगढी: हिमाली गाउँपालिकाको रूपमा परिचित दार्चुलाको विकट ठाउँमा अवस्थित अपिहिमाल गाउँपालिकाले एकमहिना सम्मका लागि एकिकृत घुम्ती सिविर सञ्चालन गरेको छ । सेवाग्राहिले पालिकामै पुगेर प्राप्तहुने सबैजसो सेवा सुविधाहरु सिबिरमा प्रदान गर्न लागेको स्थानीयले जनाएका छन्।

सिविरमा स्वास्थ्य चेकजाँच तथा औषधी वितरण, कृषि सम्वन्धी परामर्श तथा विउविजन वितरण, उद्यमीहरुलाई परामर्श, पशुपालन सम्वन्धी परामर्श, योजनाहरुको स्थलगत अनुगमन र गाउँपालिकाका सबै शाखाहरुबाट प्रदान गरिने सेवाहरु दिन लागेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । उनले भने सिविरमा जेष्ठ नागरिकको अनिवार्य स्वास्थ्य परिक्षणका साथै अन्य बिरामीको स्वास्थ्य परिक्षण गरि आयुर्वेदिक र एलोपेथिक औषधीहरु वितरण भैरहेका छन्।

यातायातको सुविधा समेत राम्रोसँग नपुगेको अपिहिमाल गाउँपालिकामा घुम्ती सिविर मार्फत सेवा प्रदान गर्दा स्थानियबासीलाई राहत र घुम्ती शिविरकै सिल्सिलामा ‘जेष्ठ नागरिकसंग अध्यक्ष’ कार्यक्रम समेत चलाइएकोले स्थानीय हर्षित भएका छन्। उक्त कार्यक्रम अन्तरगत बुढापाकाको स्वास्थ्य अवस्था बुझ्ने, आवश्यक औषधी वितरण गर्ने, दिवाखाजाका लागि हर्लेक्स र फलफुल वितरण गर्ने गरिएकले स्थानीयले गाउँपालिका र गाउँपालिका अध्यक्षलाई विशेष धन्यवाद दिएका हुन्।

गाउँपालिका अध्यक्षले घरघरमै पुगेर जेष्ठ नागरिकलाई औषधि र फलफुल वितरण गर्दा बुढा सबैले एकै ठाउँमा बस्ने अवसर पाएको जेष्ठ नागरिक समाजका अध्यक्ष ८६ वर्षीय बहादुर बहादुर ठेकरेले बताए उनले यो अवसर जुटाइदिनु हुने पालिका अध्यक्षलाई विशेष धन्यवाद दिए उनले भने “यसरी गाउँपालिका अध्यक्षले सबै बुढापाका व्यक्तिका लागि फलफुल ल्याएर घरमै भेट्न आउदाँ अत्यन्तै हर्शित छौँ, हामी बुढापाका मान्छेहरु एकै ठाउँमा भेटघाट गरि सुखदुस साटासाट गर्ने मौका पनि पायौँ ।”

गाउँपालिकाका सबै गाउँघरमा राखिएको उक्त सिबिर १ महिनासम्म सञ्चालन हुने पालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए । सिबिरको उद्घाटन अध्यक्ष ठेकरेले वडा नम्बर ४ को चिलडुङ्ग्रा बस्तिबाट गरेका हुन् । स्थानीय सरकार जनतासँग भएको आभास गराउन यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष ठेकरेले बताए। उनले भने “जनताले सहजै सेवा सुविधा प्राप्तगर्दा हामी जनप्रतिनिधीलाई झनै सन्तुष्टि महशुस हुन्छ । जनताका पीरमर्का बुझन्का साथै पालिकाबाट विनियोजीत बजेटमा भएका कामहरुको समेत स्थलगत अनुगमन गरिरहेकाछौँ ।”

