धनगढी। कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा खेतमा भित्र्याउन ठिक्क भएको गहुँबालीमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । प्रहरीले संकलन गरेको विवरणअनुसार करिब आठ बिघामा लगाएको गहुँबाली आगलागीले नष्ट भएको छ । गहुँ काटेर भित्र्याएको ठाउँमा समेत करिब ५० बिघा खेतमा आगलागी भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो बर्दगोरिया गाउँपालिका– ६, स्थानीय विपना गड्सेलाले बारीमा लगाएको आगो गहुँको खेतमा सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए । खेतमा सल्किएको आगोसँगै जोडिएको जोशीपुर गाउँपालिका– ६, सिमरी र पकडिया गाउँसम्म पुगेको थियो ।

आगलागीबाट जोशीपुरको सिमरी र पकडिया गाउँका १५ किसानको करिब एक सय ४४ कट्ठा खेतमा लगाएको गहुँबाली नष्ट भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार एकै किसानको अधिकतम एक बिघासम्ममा लगाएको गहुँबाली जलेर नष्ट भएको छ । करिब ५० बिघाजति खेतमा आगलागी भएकोमा कतिपय किसानले गहुँ भित्र्याइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय