खजुरा- स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य सस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो ।
नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउनेबित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको व्यवस्थापनलगायतका बारेमा क्षमता अभिवृद्धि गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार यस क्षेत्रमा रहेका अस्पतालमा सबभन्दा पहिले आकस्मिक सेवामा आउने बिरामीको निदान तथा उपचार विधि र हेरचाह गर्नेबारेमा त्यहाँ रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो । अस्पताल तथा स्वास्थ्य सस्थाका आकस्मिक कक्षमा आउने जटिल समस्याका बिरामीको मृत्युदर उच्च रहेको बताइएको छ ।
मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । तालिमपश्चात् आफ्नो अनुभव सुनाउँदै डोल्पा अस्पतालका डा आकर्षण तिमिल्सिनाले आकस्मिक आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनमा ज्ञानको दायरा बढाएको जानकारी दिएका छन् ।
तालिमको समापन समारोहमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका खगेन्द्र पङ्गेनी, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझी, प्रशिक्षक डा अरविन्द शाक्यलगायतले स्वास्थ्य सस्थामा बिरामी आउनसाथ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र उनीहरुको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरे । उनीहरुले बिरामीको रोगको निदानको अभाव हुन नदिन र समयमै उपचार प्रदान गर्नुपर्छ भभे । तालिमको यो ११औँ ‘व्याच’मा २४ जनालाई तालिम प्रदान गरिएको हो । तालिमका लागि विश्व स्वास्थ्य संगठन, अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआइडी) लगायतको आर्थिक एवं प्राविधिक सहयोग गरेका थिए ।
