दार्चुला कात्तिक २५ । विहिवारवाट जनगणना गर्ने कार्य सुरु भएको छ । हरेक १०–१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिक देखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाका लागी दार्चुलाका नौ वटै स्थानिय तहका ६१ वटै वडामा गणकहरु परिचालन गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका सुचना अधिकारी जनक सिंह बोहराले जानकारी दिए ।

जनगणनाका लागी जिल्लामा १ सय ८३ जना गणक र ४९ जना सुपरिवेक्षकलाई खटाइएको उनले वताए । जिल्लामा यस अघि घर तथा घरपरिवार लगत सूचीकरण कार्य गरिसकिएको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको जनगणना कार्यालयले जनाएको छ । नयाँ संविधान पछिको पहिलो जनगणना हुन लागेको हो ।

यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङ्क तयार गर्नेछ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि गणकहरु प्रत्येक घर घरमा पुग्ने जनाइएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न कूटनीतिक पहल भइरहेको र भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्यांक विभागले बताएको छ । दार्चुलामा २०६८ को जनगणना अनुसार १ लाख ३३ हजार २ सय ३४ जनसंख्या रहेको छ, भने २४ हजार घरपरिवार संख्या रहेका छन् । नेपालमा हरेक १०÷१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । देशमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय