
दार्चुला कात्तिक २६ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दार्चुलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन बुझाएको छ । अनेरास्ववियु दार्चुलाका जिल्ला अध्यक्ष आन सिंह बडाल लगायतले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टमार्फत नेपाल आयल निगम लिमिटेड काठमाडौँलाई ज्ञापन बुझाएको हो ।
परमादेशबाट बनेको सरकारको निर्देशनमा पटक–पटक नेपाल आयल निगमले मूल्य वृद्धि गरी जनताका आधारभूत आवश्यकताको वेवास्ता गरेको अनेरास्ववियुको आरोप छ । अनेरास्ववियुले मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको थियो ।