काठमाडौँ — सत्तारुढ दल कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रहरी महानिरीक्षकबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा खतिवडाले मन्त्रीको भनाई आपत्तिजनक रहेको बताए । ‘मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसदमा दिइयोस्’ सभापति खतिवडाले भने । मन्त्री गुरूले प्रदेश समायोजनमा असहयोग गर्ने प्रहरी महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्ने’ भन्दै अभिव्यक्ति दिएका थिए ।
