काठमाडौं, पोखरा — सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो । अहिले भने पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको हो ।

   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जोशीलाई आइतबार अपराह्न शंखमूलबाट पक्राउ गरेको हो । लगत्तै उनलाई जहाजमा कास्की पुर्‍याइएको छ । कास्की प्रहरीको नियन्त्रणमा रहेका उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद लिने तयारी छ । कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । ‘सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा गत वर्ष पहिलो चरणको अनुसन्धान टुंग्याएर मुद्दा अदालत पुगेको थियो,’ उनले भने, ‘त्यसपछि पूरक जाहेरी र पोखरा महानगरपालिकाको प्रतिवेदनपछि दोस्रो चरणको अनुसन्धान जारी थियो । संसदीय समितिको प्रतिवेदन पनि आइसकेको छ । त्यही क्रममा कसुरमा संलग्न थप मानिस अनुसन्धानका लागि तानिएका हुन् ।’

   बचतकर्ता सर्वसाधारणले दिएको पूरक जाहेरीलाई तत्कालीन गृहमन्त्री लामिछानेले दबाएका थिए साथै उनले अनुसन्धानमा पनि अवरोध गरेपछि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले गोर्खा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो । राई फरार छन् भने रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । समितिले चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्कर्ष निकालेको थियो । सहकारीको बचत अपचलनसम्बन्धी छानबिन प्रतिवेदन संसद् सचिवालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय हुँदै आइतबार प्रहरी प्रधान कार्यालय पुगेको थियो । प्रधानमन्त्री कार्यालयले प्रतिवेदन कार्यान्वयनका लागि अर्थ, उद्योग र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि पठाएको छ ।

   प्रतिवेदन गृहले प्रहरी प्रधान कार्यालयमा पठाएकै दिन आइतबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ परेका हुन् । पक्राउ गर्न पुगेको प्रहरी टोलीसँग जोशीले ‘म मात्रै हो कि माथिका पनि पक्राउ पर्छन् ? चेक काट्ने अरू, पक्राउ पर्ने म मात्रै ?’ भनी प्रश्न गरेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसपछि प्रहरीले ‘अनुसन्धानबाट खुलेअनुसार कोही पनि नछुट्ने’ बताएका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार अनुसन्धानका लागि पक्राउ पर्न सक्ने सुइँको पाएर भाग्न सक्ने देखिएपछि जोशीलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको हो । सहकारी ठगीसम्बन्धी अनुसन्धानमै संलग्न ती प्रहरी अधिकृतले कान्तिपुरलाई भने, ‘सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीबाट गर्नुपर्ने अनुसन्धान भइसकेको छ, अरू सहकारीमा पनि अनुसन्धान अघि बढेको छ । कसुरमा संलग्न कोही फरार छन्, कोही जेलमा र कोही बाहिरै छन् । बाहिर रहेका केही व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानकै क्रममा जोशी पक्राउ परेका हुन् ।’

   जोशी पक्राउ परेलगत्तै गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा रास्वपा सभापति लामिछानेले आकस्मिक रूपमा नेता/कार्यकर्ता र समर्थकलाई पार्टी कार्यालय वनस्थली बोलाएका थिए । त्यस क्रममा नेता/कार्यकर्ता र समर्थकले ‘सहकारीमा लामिछानेलाई फसाउन लागेको’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘मलाई पक्राउ गर्न पुर्जी जारी नभएको बुझिएको छ तर यो दुईतिहाइको सरकारको भर छैन ।’

पोखराको सूर्यदर्शनसहित बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीबाट सर्वसाधारणको बचत रकम गोर्खा मिडियामा सारिएको थियो । खातामा आएको रकममध्ये धेरैजसो तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको हस्ताक्षरमा काटिएका चेकमार्फत खर्च भएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । खाता सञ्चालकका रूपमा राई, लामिछाने र जोशीको नाम, मिति, कम्पनीको नाम, ठेगाना, तस्बिर, तीनपुस्ते, औंठाछाप र हस्ताक्षरसहित ग्राहक पहिचानपत्र (केवाईसी) फाराम भरेर बैंक खाता खोलिएको प्रमाणित भए पनि लामिछानेले सहकारीबाट आफ्नो खातामा पैसा नआएको दाबी गर्दै आएका छन् । तर, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ८ मा ‘जसको नाममा खाता खोलिएको छ, कारोबारको जिम्मेवार उही हुन्छ’ भनिएको छ ।

   कास्की प्रहरीको अनुसन्धान र पोखरा महानगरपालिकाको छानबिनबाट पनि सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा लगेर अपचलन गरेको पुष्टि भएको थियो । त्यही प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर २०८० असोज १८ मा कास्की जिल्ला सरकारी वकिल कार्यालयले सूर्यदर्शनका संस्थापक अध्यक्ष राईसहित १९ जनालाई प्रतिवादी बनाएर १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित अदालतमा ठगीसम्बन्धी मुद्दा लगेको थियो । त्यसबेला लामिछाने र जोशीलाई अनुसन्धानको दायराभन्दा बाहिर राखिएको थियो । पछि पीडित बचतकर्ताले २०८० माघमा लामिछाने, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसहितलाई आरोपित बनाएर प्रहरीमा अर्को जाहेरी दिएका थिए ।

   कास्की प्रहरीले अघि बढाएको दोस्रो चरणको अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन प्रमुख किरण बज्राचार्यले इन्स्पेक्टर नेतृत्वको टोली पोखरा पठाएकी थिइन् । कास्की प्रहरी र सीआईबीको टोलीले सूर्यदर्शन प्रकरणमा लामिछानेसहितका व्यक्तिको संलग्नता देखिएको भन्दै उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान गरेको थियो । तर, प्रतिवेदनमा उल्लेख गरिएअनुसार थप अनुसन्धान हुन नपाउँदै गत फागुन २३ मा लामिछाने उपप्रधानसहित गृहमन्त्री बने । गृहमन्त्री बनेको अर्को साता लामिछानेले सीआईबी प्रमुख बज्राचार्यलाई सरुवा गरेर एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबीमा लगेका थिए । त्यसपछि ठगी प्रकरणको अनुसन्धान अवरुद्ध बनेको थियो ।

   लामिछाने सत्ताबाट बाहिरिएपछि अनुसन्धान अघि बढाउने क्रममा आरोपितमध्येका लामिछानेसँग भदौ १० र जोशीसँग भदौ ८ मा कास्की प्रहरीले काठमाडौंमा आएर प्रारम्भिक बयान लिएको थियो । डीएसपी वसन्तकुमार शर्माको टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग पनि बयान लिएको थियो । सूर्यदर्शन सहकारीमा करिब १८ हजार ७ सय सर्वसाधारणको बचत हिनामिना भएको छ । आइतबार जोशी पक्राउपछि भने सहकारीको बचत हिनामिनाको अनुसन्धानले गति लिने देखिएको छ ।कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय