काठमाडौँ-अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् ।

   नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५/५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ । यस्तै धनकुटा र सोलुखुम्बुमा २/२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् । गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने । उनका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

   धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो । नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ । मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन् । उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन् । पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ ।

   बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन् ।काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन् । वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए । काठमाडौंको फर्पिङमा एउटा पक्की घर भत्किएर ५ जना र स्वयम्भू नजिकै इचंगुनारायणमा पनि घरभित्रै पुरिएर ३ जनाको ज्यान गएको छ । नक्खु खोलाले तटीय क्षेत्रमा टहरा बगाउँदा २ जना बेपत्ता छन् । टहराबाट बगेका अरू ३ जनाको भने उद्धार गरिएको छ । नख्खु खोलामा बाढी आएपछि शनिबार बिहानै छानामा निस्केर उनीहरूले उद्धारका लागि हारगुहार गरेका थिए तर बेलैमा उद्धार हुन सकेन । काभ्रेका चणिकलाल तामाङले ज्यानको परवाह नगरी उर्लिएको भेलमा पसेर ६ वर्षीया मेघना साह र २२ वर्षीय राज साहको उद्धार गरेका थिए । मेघनाका बुवा राजु साहले भने पौडिएर ज्यान जोगाएका छन् । उद्धार हुन नसक्दा बालिका सेतु साह र उनकै आफन्त नन्दु साह भेलमै हराएका छन् । ‘उनीहरूको अवस्था अज्ञात छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले भने । नख्खु खोलाले घेरेपछि टहरामा फसेकालाई उद्धार गर्न रबर बोटसहित गएका सशस्त्रका ११ जनालाई पनि भेलले बगाएको थियो । उनीहरू पौडिएर बाँचेका थिए ।

   प्राकृतिक प्रकोपमा जुध्न पर्याप्त स्रोत/साधन नहुँदा कतिपयलाई उद्धार गर्न नसकिएको खोज तथा उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले बताए । ‘प्रकोप अकस्मात् निम्तिएको होइन, हरेक वर्ष यस्तो घटना दोहोरिरहन्छ । त्यससँग जुध्न चाहिने बन्दोबस्तीको जोहो हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘नदीको भेलमा फसेकाले मलाई बचाऊ भन्दा पनि हामी निरीह हुनुपर्ने स्थिति आयो, योभन्दा विडम्बना अरू के हुन सक्छ र ?’ सुरक्षा निकायले विपद् व्यवस्थापनमा चाहिने लाइफ ज्याकेट, र्‍याफ्ट बोर्ड, डोरीलगायतका सरसामान पर्याप्त किनिदिनुपर्‍यो भन्दा सरकारले ‘एउटा कानले सुनेर अर्को कानले उडाउने गरेको’ टिप्पणी उनले गरे । प्रकोपको उच्च जोखिममा रहेका स्थानलाई ‘रेड जोन’ मा राखेर बस्ती स्थानान्तरण गर्न पनि सरकार असफल बनेको ती सुरक्षा अधिकारीले बताए ।

   गृह मन्त्रालयले भने प्रतिकूल मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार कार्य कठिन बने पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय स्वयंसेवक, गैरसरकारी संघसंस्थासमेतको सहयोगमा उद्धार र खोजी कार्य भइरहेको जनाएको छ । ‘प्रतिकूल मौसमका कारण खोज उद्धार कार्यमा केही कठिनाइ भए पनि सुरक्षाकर्मीको सक्रियताले थुप्रै मानिसलाई सकुशल उद्धार गर्न सकिएको छ,’ गृहका प्रवक्ता तिवारीले भने । उनका अनुसार विपद्लाई ख्याल गर्दै सेनाका हेलिकोप्टरहरूलाई तयारी अवस्थामा राखिएको छ र आवश्यक परेको ठाउँमा तत्काल उडाउन निर्देशन दिइएको छ । गृहप्रवक्ता तिवारीले विपद्मा परी घाइते भएकाको उपचार निःशुल्क गर्ने प्रबन्ध मिलाइएको बताएका छन् ।

   गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा शनिबार केन्द्रीय सुरक्षा समितिको आपत्कालीन बैठक बसी खोज, उद्धार र राहत कार्य प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारी संयन्त्रलाई निर्देशन दिइएको थियो । विपद्पछिको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले मात्रै कम्तीमा ११ हजार जना परिचालन गराएको प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । नेपाल प्रहरीले भने कार्यालय सुरक्षा, अपराध अनुसन्धान र अरू विशेष परिस्थितिमा खटिएकाबाहेक सबै युनिटबाट खोज तथा उद्धारमा परिचालन गरेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले बताए । जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १३ सम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन र जोखिम औंल्याइएका स्थान हुँदै सडक यातायात सञ्चालन नगर्न अनुरोध गरेको थियो । तर त्यसलाई समेत बेवास्ता गरेर कतिपय स्थानमा सवारीसाधन चलाइएका थिए । उपत्यका प्रहरी कार्यालयले शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिने सबै सवारी सञ्चालनमा रोक लगाएको थियो । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय