बाजुरामा महिनावारी भएका महिलालाई गोरस दिन प्रतिबन्ध
बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिका–१० बदेडामा महिनावारी भएका महिलालाई गोरस (दूध, दही, मही) दिन नपाइने रुढी चलन कायमै छ।
धामीझाँक्रीहरूले यस्तो बेला महिलालाई गोरस दिनु धार्मिक दृष्टिकोणले अशुभ हुने बताउँदै, त्यसो गर्ने परिवारलाई पशुपालन बन्द गराउने धम्की दिने गरेका छन्। मनसार्की स्थानीयले भने, “यदि कसैले लुकाएर गोरस दियो भने धामीले देउता गाडेर गाईभैँसी पाल्न नदिने डर देखाउँछन्।”
महिनावारी भएका महिलाले गाईभैँसी छोएमा, सात मुहानको पानीमा सुन राखेर गाईभैँसीलाई नुहाउन लगाउने चलन पनि यहाँ कायम छ। त्यस्तै, महिलाले छाना छाए गाईभैँसी नपाल्न उर्दी जारी गर्ने अन्धविश्वासका कारण छानामा बोका बलि दिने पूजा गरिन्छ।
समाजमा गहिरो रूपमा रहेको यस्ता विश्वासले परिवर्तनको आवश्यकता औँल्याए पनि ग्रामीण बस्तीहरूमा अझै परम्परागत सोच हावी छ।
