दार्चुला, शैल्यशिखर नगरपालिका–९ स्थित ऐतिहासिक जगतपुरी शिवधाम गोकुलेश्वरमा आजदेखि २० दिने कोटिहोम महायज्ञको भव्य सुरुआत भएको छ।
राष्ट्र र क्षेत्रीय शान्तिका साथै कोरोना भाइरस संक्रमणबाट दिवंगत भएका १२,०३२ नेपालीको आत्मा शान्तिको कामनाका लागि महायज्ञ आयोजना गरिएको कोटिहोम समितिका अध्यक्ष हर्कबहादुर चन्दले जानकारी दिनुभयो।
महायज्ञको अवसरमा पाँच क्विन्टल आठ किलोको त्रिशूल र शिवलिङ्ग स्थापना गरिनेछ। साथै, महायज्ञका विशेष धार्मिक कार्यक्रमअन्तर्गत पञ्च महापुराण वाचन, चर्मण्वती (महाकाली) नदीमा दूध धारा अर्पण, दीप प्रज्वलन, र पाँच सय आठ कन्याहरूको पूजा गरिने बताइएको छ।
महायज्ञको प्रमुख आकर्षणका रूपमा राष्ट्रिय पण्डित एवं ब्यासाचार्य खेमराज ओझाले प्रवचन दिनुहुनेछ। धार्मिक विधिहरूसँगै भक्तजनहरूलाई आस्था र सद्भाव फैलाउने यो महायज्ञ कार्तिक २० गते समापन हुनेछ।धार्मिक आस्थाको केन्द्र बनेको कोटिहोम जगतपुरी शिवधाममा सुरु भएको यो महायज्ञले दार्चुला र सुदूरपश्चिम क्षेत्रका नागरिकको आस्था र समर्पणलाई थप प्रगाढ बनाउँदै समाजमा शान्ति र एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
