बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिक हिजो शुक्रबार दिउँसो साढे १२ बजे अटो दुर्घटना हुँदा चार जना घाइते भएका थिए।
सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा ४५ वर्षीया हरिना जोशी (बसन्ती) गम्भीर घाइते भइन्। उनलाई जिल्ला अस्पताल बैतडीमा उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर, पाटन–खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजे लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
दुर्घटनामा घाइते भएकी दोगडाकेदार–२ की २५ वर्षीया पार्वती जोशी गम्भीर अवस्थामा छिन्। गर्भवती पार्वती श्रीकोट स्वास्थ्यचौकीमा गर्भ परीक्षणका लागि जाने क्रममा दुर्घटनामा परेकी हुन्। उनलाई पनि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
यस्तै, पुर्चौंडी नगरपालिका–९ का २० वर्षीय हिरा सार्कीको उपचार जिल्ला अस्पताल बैतडीमा गरी घर पठाइएको छ। अटोका मालिक दोगडाकेदार–२ का २५ वर्षीय राजेन्द्र भाटको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीले अटो चालक शैल्यशिखर नगरपालिका–९, दार्चुलाका २२ वर्षीय उमेश साउँद र अटो धनी राजेन्द्र भाटलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
