बैतडी – बैतडी, सुर्नया गाउँपालिकाले चाडपर्वका अवसरमा बजारमा अनुशासन कायम गर्न र उपभोक्ताको हकहित संरक्षणका लागि विशेष बजार अनुगमन थालेको छ। कालोबजारी नियन्त्रण, म्याद नाघेका सामग्रीको बिक्री रोकथाम, र दर्ता नगरेका पसलहरुलाई दर्ता गर्न प्रोत्साहन गर्ने उद्देश्यले अनुगमन गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीका अनुसार, सोमबारको अनुगमनका क्रममा वडा नं १, २, ३ र ४ का विभिन्न बजारहरूबाट ६ हजार रुपैयाँ बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ।

अनुगमन टोलीको नेतृत्व उपाध्यक्ष मञ्जु बोहराले गरेकी थिइन्। उनले भनिन्, “बजारमा हुने कालोबजारी रोक्न र उपभोक्ता हितका लागि सबैलाई सचेत पार्न अनुगमन सुरु गरेका हौं।”

गाउँपालिकाले सनशेरीमाण्डौं, सतबाँझ, सिउडे, धरमघर लगायतका क्षेत्रमा अनुगमन गरेको छ। अनुगमनका क्रममा पालिकामा दर्ता नभएका पसलहरुलाई अनिवार्य दर्ता गर्न आग्रह गरिएको छ। त्यस्तै, होटेल तथा किराना पसलहरुलाई मूल्य सूची प्रदर्शन गर्न र होटेलहरूमा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत जोशीका अनुसार, अनुगमनलाई चाडपर्व मात्र नभई अन्य समयमा पनि निरन्तरता दिने योजना रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय