दार्चुला – राष्ट्रकै सात प्रमुख धार्मिक स्थलमध्ये एक मालिकार्जुन धाम मडमा आज रात्रीकालीन जात्रा हुने भएको छ। कार्तिक शुक्ल चतुर्दशीका दिन हरेक वर्ष लाग्दै आएको यो जात्रा आज विशेष समारोहसहित मनाइने मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
जात्राको मर्यादा र व्यवस्थापनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय, दार्चुलाले २४८ सुरक्षाकर्मीको व्यवस्था गरेको छ। जनपद प्रहरीको डिएसपीको कमाण्डमा ३ जना प्रहरी निरीक्षकसहित १५० जना, १० जना सादा पोसाकका प्रहरी र ८ जना ट्राफिक प्रहरी खटाइने भएका छन्। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण, दार्चुलाबाट ८० जना सशस्त्र प्रहरी पनि खटिने जनाइएको छ।
मालिकार्जुन गाउँपालिका–३, मडस्थित मालिकार्जुन धामसँगै लेकम क्षेत्रका अन्य मालिकार्जुन मन्दिरहरूमा पनि रात्रीकालीन जात्राको तयारी छ। लेकम गाउँपालिका–६ उचाकोट, लेकम गाउँपालिका–५ मैखोली र लेकम गाउँपालिका–२ गराडीमा पनि यसै दिन जात्रा लाग्ने स्थानीय जानकार नरेश जोशीले जानकारी दिएका छन्।
यसअघि हिजो कार्तिक शुक्ल त्रयोदशीका दिन शैल्यसिखरमा पुजन जात्रा सम्पन्न भएको थियो भने भोलि कार्तिक ३० गते कुणी भगवतीमा यस वर्षको अन्तिम जात्रा सम्पन्न हुने लेकमका ज्योतिष केशवराज जोशीले जनाएका छन्।
